नेपाली सेनाले आफ्ना कर्मचारीलाई सस्तो ब्याजमा घर कर्जा दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाली सेनाले आफ्ना कर्मचारीलाई सस्तो ब्याजमा घर कर्जा दिने

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७८, बुधबार

    काठमाडौं । नेपाली सेनाले न्‍यूनतम १० वर्ष सेवा गरेका आफ्ना कर्मचारीलाई घर निर्माणका लागि सहुलियत दरमा ऋण दिने भएको छ । बुधबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्‍यालय जङ्गी अड्डामा उक्त कार्यक्रमको शुभारम्भ गरे ।

    सैनिक सेवामा १० वर्ष पूरा गरेका तर आफू र श्रीमान वा श्रीमतीको नाममा घर नरहेका सैनिक कर्मचारीलाई ३.३२ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा दिने सेनाले घोषणा गरेको छ ।

    यो सुविधा अन्तर्गत हालसम्‍म २० जनाले घरकर्जाका लागि निवेदन दिइसकेको र त्‍यसमध्‍ये ७ जनाको प्रक्रिया पूरा भई बैंकमा सिफारिस भइसकेको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

    यसअघि प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो पदवहालीपछि पहिलो सम्बोधनमा आवास कर्जा कार्यक्रमको घोषणा गरेका थिए । त्यसपछि नेपाली सेनाको सैद्दिक कल्याणकारी कोष, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय बिमा संस्थानबीच सहुलियत ऋणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

    यस्तो कर्जा लिन काठमाडौं उपत्यकाका सैनिक कर्मचारीले जंगी अड्डास्थित सैनिक कल्याणकारी महानिर्देशनालयको आवास कर्जा कार्यान्वयन इकाइमा र उपत्यका बाहिर सैनिक कर्मचारीले नेपाली सेनाको युनिट वा कल्याणकारी कोषको हिताधिकारी कल्याण केन्द्रहरुमा आवेदन दिन सक्ने सेनाले जनाएको छ ।

    सहुलियत कर्जा स्वीकृत भएपछि धितो मूल्यांकनको आधारमा सैनिक कर्मचारीले घर खरीद गर्न एकमुष्ट र घर बनाउन पहिलो किस्तामा ४० तथा दोस्रो र तेस्रो किस्ता ३०-३० प्रतिशत रकम पाउनेछन् ।