काठमाडौं । युवा नेतृ रन्जु दर्शनाले विवेकशील साझा पार्टीबाट अलग भएको घोषणा गरेकी छन्। बिहीबार एक सार्वजनिक अपिलमार्फत उनले आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पारेको जानकारी गराएकी छन्।
‘मिति २०७८ पौष ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु,’ उनले भनेकी छन्।
उनले आफू राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भनेर प्रवेश गरेको भन्दै पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको बताएकी छन्। ‘मैले सफा गर्ने कोशिस पनि गरेँ तर पूर्ण रुपले सफा गर्न असमर्थ रहे, तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ,’ उनले लेखेकी छन्।