दमौली । जिल्ला निर्वाचन कार्यालय तनहुँले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानमा स्थानीय तहबाट चार हजार मतदाताको नामावली सङ्कलन गरिएको छ । पहिलो चरणमा तनहुँका पाँच स्थानीय तहमा सञ्चालित अभियानबाट तीन हजार ९ सय १४ जनाको फोटो सहितको मतदाता नामावली सङ्कलन भएको हो ।
भिमाद नगरपालिकाबाट एक हजार १७, घिरिङ गाउँपालिकाबाट सात सय २९, म्याग्दे गाउँपालिकाबाट पाँच सय ३५, बन्दिपुर गाउँपालिकाबाट नौ सय २५ र देवघाट गाउँपालिकाबाट सात सय आठ जनाको नामावली सङ्कलन भएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।
मङ्सिर १७ गतेदेखि २६ गतेसम्म पहिलो चरणमा पाँच स्थानीय तहमा अभियान सञ्चालन गरिएको थियो । यही अवधिमा प्रशासन कार्यालयबाट तीन सय ६३ र निर्वाचन कार्यालयबाट एक सय ३८ जनाको नामावली सङ्कलन भएको छ । जिल्ला बाहिरका ३१ जनाले पनि निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएको ढकालले जानकारी दिए । सबै गरेर यसबीचमा चार हजार चार सय ४६ जनाको विवरण सङ्कलन भएको छ । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ,” उनले भने, “परिचयपत्र हराएकाले पनि पुनः नाम दर्ता गराएको हुन सक्छ ।”
दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली सङ्कलन हुँदै आएकामा सर्वसाधारणको सहजताका लागि स्थानीय तहबाट सङ्कलन अभियान सुरु गरिएको हो ।
मतदाता नामावली सङ्कलनका लागि ९ जना दर्तास्थल व्यवस्थापक, पाँच जना दर्ता कर्मचारी, ९ जना सहायक दर्ता कर्मचारी र ९ जना दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन गरिएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ ।
स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता रहेकामा प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार चार सय ४६ मतदाता रहेका थिए । विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म दुई हजार आठ सय १७ मतदाता थपिएका छन् ।