दमाैली । तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहराको संरक्षणका लागि शुक्रबारदेखि चट्टान आरोहण प्रतियोगिता सुरु भएको छ । बन्दिपुर गाउँपालिका, नेपाल पर्यटन बोर्ड र गण्डकी अल्पाइन क्लव पोखराको संयुक्त आयोजनामा चट्टान आरोहण प्रतियोगिता सुरु भएको हो ।
पृथ्वीराजमार्ग विस्तारका क्रममा यस ठाउँ भत्किने चर्चा चलेसँगै यसको संरक्षणका लागि ध्यानाकर्षण गराउन प्रतियोगिता आयोजना गरिएको हो । ‘साहसिक पर्यटनको प्रबद्र्धन गरौं ः विमलनगर चुनपहरा जोगाऔ’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता पुस १२ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा पुरुष र महिला दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ । चट्टान आरोहणका लागि नेपाली र विदेशी गरी ५० जना सहभागी हुने गण्डकी अल्पाइन क्लवका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए। जापान र हल्याण्डका एक÷एक जना नागरिकले प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धामा प्रथम र द्वितीय हुनेलाई क्रमशः रु ५० हजार र रु २५ हजार प्रदान गरिनेछ ।
गण्डकी प्रदेशमा रहेका पर्वतारोही आबद्ध संस्थाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर काम गर्दै आइरहेको छ । चट्टान आरोहण मानसिक तनाव कम गर्नका लागि उपयुक्त रहेको उनकाे भनाई छ । उनका अनुसार सगरमाथा चढ्न जानुपूर्व चट्टान आरोहणले सहयोग पु¥याउँछ ।
चुनपहरा बचाउ अभियानका अभियान्ता एवं सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चट्टान आरोहणको प्रशिक्षणस्थल बनेको यस ठाउँको संरक्षण गर्नुपर्ने बताए। अरुपनि केही स्थानमा चट्टान आरोहण हुने भए पनि विमलनगरको चुनपहरा सबैभन्दा उपयुक्त रहेको बताइन्छ । हालसम्म आरोहणको लागि पत्ता लागेको पहराहरू मध्ये सबैभन्दा धेरै २७ वटा रुट भएको यही मात्र चट्टान हो ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले यस ठाउँको संरक्षणका लागि गाउँपालिकाले पहल गर्दै आएको बताए। चुनपहरामा थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले अध्ययन गरिरहेको उनले बताए । “साहसिक पर्यटनको केन्द्रको रुपमा रहेको यस ठाउँमा थप पूर्वाधार निर्माण गरी रोजगारीको अवसर सिर्जना गराउने लक्ष्य लिएका छौ,” थापाले भने। उनका अनुसार राजमार्ग विस्तारका क्रममा यसको संरक्षणका लागि केही विकल्पहरुमा छलफल भइरहेको छ ।
यहाँका स्थानीयवासीले पनि यस ठाउँको संरक्षण हुनुपर्ने भन्दै आवाज उठाइरहेका छन् । राजमार्ग विस्तार योजना अनुरुप सडकको मापदण्ड अनुसार मध्यविन्दुबाट दायाँ र बायाँ २५÷२५ मिटर विस्तार गर्नका लागि चिन्ह लगाउने कार्य सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सडक विस्तार अति आवश्यक रहेको भएतापनि पृथ्वीराजमार्गसँगै जोडिएको यस क्षेत्रको संरक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।
चुन पहरा संरक्षण समितिले हाल कायम गरिएको सडक मापदण्डलाई आवश्यकता अनुसार घटाउन, आरोहण क्षेत्रपट्टिको मापदण्ड घटाई खोलापट्टिको मापदण्ड बढाउन र विमलनगरको पुलबाट पारी करिब १.५ किमिको वैकल्पिक ट्रयाक खोली नयाँपुल हुँदै निस्कने सडक बनाउने विकल्प अगाडी सारेको छ ।
पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न तथा विदेशबाट समेत पर्यटकहरु चट्टान आरोहणका लागि आउने गर्दछन् । विसं २०६४ सालमा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकहरु र स्थानीयवासी मिलेर सो क्षेत्रको शुरुवाती अन्वेषण गरे पश्चात् क्रमबद्ध रुपमा यससँग सम्बन्धित सङ्घसंस्था तथा निकायहरुले यस क्षेत्रमा आरोहण गतिविधि गर्नुका साथै व्यवस्थापन गर्दै आएको छ ।
पहिला डरलाग्दो पहराको रुपमा लिइने यसले तनहुँ तथा नेपाललाई नै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेको छ । यहाँ साहसिक अभ्यास, तालिम तथा खेलकुद गतिविधि सञ्चालन हुने गरेको छ । यहाँ राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिता पनि सम्पन्न भएका छन् । पर्वतारोहण क्षेत्रमा आबद्ध सङ्घसङ्गठन, प्रतिष्ठान र क्याम्पसहरुले तहगत तालिमका सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा तथा परीक्षा यस ठाउँमा सञ्चालन गर्दै आइरहेका छन् ।