दमाैली । सवारी दुर्घटनामा परी घाइते भएका तनहुँको म्याग्दे गाउँपालिकाका दिपक भण्डारीले प्रधानमन्त्रीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । २०६६ सालमा दुर्घटनामा परी अपाङ्गता भएका भण्डारीले प्रधानमन्त्री भेटेर आफ्ना कुरा राख्ने चाहना व्यक्त गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “म आफ्नो कुनै पनि काम आफै गर्न सक्दिन । मैले जीउनकोलागी चौबिसै घण्टा पूरै दोस्रो व्यक्तिको सहारा लिनुपर्छ । अशक्तताका कारण म त पीडित छँदैछु साथै मेरो कारण परिवारजनलाई समेत पीडा छ । पहिले म सपाङ्ग (अपाङ्गता नहुदा) रहँदा र आज अपाङ्ग भैसकेपछि पनि आजको मितिसम्म मैले राज्यलाई तिर्नुपर्ने करहरु राज्यलाई भुक्तान गरेकै छु । तथापि यस्तो अवस्थामा पनि मैले राज्यबाट पाउनुपर्ने राज्यले निर्माण गरेको अपाङ्गता नियमावली अनुसारको आवश्यक सेवा सुविधा प्राप्त गर्नका लागि पटकपटक स्थानीय सरकारसँग निवेदन गर्दा पनि प्राप्त गर्न नसकेको कारण अब उप्रान्त मेरो एक मात्र विकल्प इच्छा मृत्यु हो भनी रोजेको हुँ ।”
भण्डारीले आफ्नो अन्तिम इच्छा पूरा गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । “म एकपटक प्रधानमन्त्री ज्यु तपाईसँग प्रत्येक्ष भेटी मेरो पीडाको अवस्था र आवश्यकताको यथार्थता तपाईँलाई तपाईंकै आँखा अगाडि प्रत्येक्ष अवगत गराउन चाहन्छु,” उनले भने, “प्रधानमन्त्री ज्यु एकचोटी तपाईँले मेरो ठाउँमा रहेर मेरो पीडाको महशुस गरेर हेर्नुहोस् ।”
उनले आफू र आफू जस्ता कठिन परिस्थितिमा बाँच्न बाध्य पीडित व्यक्तिहरुको हितलाई ध्यानमा राखी आवश्यक सेवा सुविधाको समुचित प्रवन्ध मिलाउने विषयमा कुराकानी गर्न चाहेको उल्लेख गरेका छन् ।