दमाैली । नेपाली काङ्ग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य शङ्कर भण्डारीले निकट भविष्यमा हुने सबै निर्वाचन जित्ने गरी तयारी गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । १४ औं महाधिवेशन पछि पहिलो पटक गृहजिल्ला आइपुगेका भण्डारीले देवघाट गाउँपालिका–३ छिपछिपेमा शनिबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै भण्डारीले अब हुने तीन वटै तहको निर्वाचन काङ्ग्रेसले जित्नुपर्ने बताए ।
“निर्वाचन जित्न अहिलेदेखि नै सङ्गठन सुदृढ बनाउनेतर्फ लागौ, सबै एकजुट भएर लागेको खण्डमा काङ्ग्रेस हार्दैन,” उनले भने । मुलुक र मुलुकवासीको भविष्य नेपाली काङ्ग्रेसको हातमा रहेको उल्लेख गर्दै भण्डारीले जनताले तीन तहको निर्वाचनमा काङ्ग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे । मुलुकमा भएका सबै विकास र परिवर्तन काङ्ग्रेसकै नेतृत्वमा भएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका सभापति जितप्रकाश आले, उपसभापति देवकुमार श्रेष्ठ, राजेन्द्रकृष्ण श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, सहदेव अधिकारी लगायतले सम्बोधन गरेका थिए ।