दुलेगौँडा । तनहुँका एक लाख बढीलाई पुर्ण मात्रामा कोरोना विरुद्धको खोप लगाईएको छ । जिल्लामा हालसम्म एक लाख सात हजार ६३५ जनाले कोरोना विरुद्धको पूरा मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए ।
७५ हजार ५५५ जनाले पहिलो मात्राको खोप लगाएर दोस्रो मात्राको खोपको पखाईमा छन् । यतिबेला जिल्लामा विद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि मोर्डना खोप अभियान चलिरहेको छ ।
२० हजार ३३० बालबालिकालाई मोर्डना खोप लगाईएको अधिकारीले जानकारी दिए । जिल्लामा ३६ हजार ९५५ जना बालबालिकालाई मोर्डना खोप लगाईनेछ । ६ पुसबाट सुरु भएको मोर्डना खोप अभियान १४ पुससम्म चल्नेछ । शुक्लागण्डकी नगरपालिका बाहेक सबै स्थानीय तहले विद्यालयमा पुगेर बालबालिकालाई मोर्डना खोप लगाईदिरहेका छन् ।
जिल्लामा शनिबारसम्म २६ जना कोरोनाका सक्रिय संक्रिमत रहेका छन् । दोस्रो लहर सुरु भएपछि बैशाखयता जिल्लाका पाँच हजार ३७९ जनालाई कोरोना पुष्टी भएको छ । तीमध्ये पाँच हजार २२४ जना निको भए । दोस्रो लहरको कोरोनाका कारण जिल्लाका १२९ जनाको मृत्यु भएको छ ।