पोखरा । कास्कीको रुपा गाउँपालिकामा रहेको रुपाकोट रिसोर्टले आइतबार सातौ वार्षिकोत्सव मनाएको छ । रिसोर्टले गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा गुरुङले सिर्जनशीलताले मात्र मुलुक समृद्ध बन्ने बताए। सिर्जनशील काम गरी मुलुक समृद्ध बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरे ।
“मुलुकलाई समृद्ध बनाउने सपना देख्नुपर्छ, देखेको सपना पूरा गर्न आत्मविश्वास र सङ्कल्प चाहिन्छ,” गुरुङले भने, “सबैले सपना देखौ र देखेको सपना पूरा गर्नेतर्फ लागौ ।” पूर्व मुख्यमन्त्री गुरुङले रुपाकोट रिसोर्टका सञ्चालकले सपना देखेरै काम सुरु गरेकाले आज सफलता प्राप्त गरेको उल्लेख गरे ।
रुपाकोटले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिएको उनको भनाई थियो । विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले भने, “कामका लागि विदेशिने होइन, अब यही काम सिर्जना गर्नेतर्फ लाग्नुपर्छ ।”
पूर्व मुख्यमन्त्री गुरुङले आफू गण्डकी प्रदेशलाई समृद्ध बनाउने सपना देखेरै मुख्यमन्त्री बन्न आएको बताउँदै भने, “राजनीतिलाई फोहोरी खेल बनाएर मलाई हटाउने काम भयो, पदमा नभएपनि मेरो अभियान जारी रहन्छ ।” उनल आफू कुनै दिन प्रधानमन्त्री बनेको खण्डमा नेपाल कस्तो बनाउने भनेर अहिल्यैदेखि सपना देखिसकेको बताए ।
सरकारको काम वातावरण बनाउने भएको बताउँदै गुरुङले विकास गर्ने भनेको नेपालीले नै भएको बताए । “विदेशीले आएर नेपाल बनाइदेलान् भनेर नसोचे हुन्छ, नेपालको विकासका लागि नेपाली नै लाग्नुपर्छ,” उनले भने ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले व्यवसायीमैत्री वातावरण तयार गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै रुपाकोट रिसोर्टले गाउँपालिकालाई चिनाउन सहयोग पुगेको बताए ।
रिसोर्टका अध्यक्ष पुष्प अधिकारीले सात वर्ष अगाडी स्थापना भएको रिसोर्टले थप पूर्वाधार निर्माण गरिरहेको बताए । होटल व्यवस्थापन कलेज र पाँच तारे होटल डिजाइनको काम भइरहेको बताउँदै उनले भने, “रुपाकोटमा एक हजार जनालाई रोजगारी दिने लक्ष्य छ ।” रिसोर्टले आगामी वर्षभित्र सम्पन्न गर्ने गरी वल्र्ड भिलेज र स्वीङ पार्क निर्माण गरिरहेको अधिकारीले जानकारी दिए । त्यसबाट चार सय जनालाई रोजगारी सिर्जना हुने उनले बताए ।
रिसोर्टका कार्यकारी निर्देशक मनिष अधिकारीले रिसोर्टमा थप पूर्वाधार निर्माणका कामहरु जारी रहेको बताए ।