बन्दिपुर ।स्वदेशी र विदेशी पर्यटकमाझ परिचत तनहुँको एउटै गन्तव्य हो बन्दीपुर । समग्र बन्दीपुर पर्यटकका लागि प्याकेज भएपनि यहाँ ग्रामिण पर्यटनदेखी साहसिक पर्यटनका छुट्टाछुट्टै गन्तव्य छन् ।
बन्दीपुर गाउँपालिका–४ विमलनगरमा छ साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य छ चुनपहरा । जहाँ बर्षेनी हजारौँ स्वदेशी र विदेशी पर्यटक रक क्लाइम्बिङ गर्न आईपुग्छन् । पृथ्वी राजमार्गसँगै जोडिएकाले सबै दृष्टिले उपयुक्त मान्छन् साहसिक पर्यटकले विमलनगरको चुनपहरालाई । हिमाल आरोहण गर्नु पुर्व अभ्यास गर्न होस् या सुरक्षाकर्मीको तालिमका लागि रोजाईमा पर्दछ चुनपहरा ।
विमलनगरको चुनपहरामा २०६३ सालमा रक क्लाइम्बिङको रुट तयार भएको थियो । त्यसपछि साहसिक पर्यटकमाझ चिनिएको चुनपहरा रुट तयारको भएको १५ बर्षमै अस्तित्व मेटिन्छ कि भन्ने चिन्ता थपिएको छ । मुग्लिन पोखरा चार लेन सडक आयोजनाले चिन्ता थपिदिएको हो । सडक फराकिलो पार्ने क्रममा चुनपहरा भत्कने सक्ने आंशकाले स्थानीय सरकार, पर्यटन व्यवसायी र साहसिक पर्यटनसँग सम्बद्ध संघसंस्था झस्किएका छन् । यी सबैको एक मत छ ‘कुनै हालतमा चुनपहरा भत्काउनु हुदैन्, सडकका लागि अन्य विकल्प सोच्नुपर्दछ ।’ रक क्लाइम्बिङमा विमलनगरको चुनपहरा जस्तो उत्कृष्ट गन्तव्य अन्त कतै नभएको उनीहरुको दावी छ ।
सडक फराकिलो बनाउँदा पहरालाई कटान गर्न नहुने विमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठ बताउँछन् । ‘चुनपहरा कटान नगरी सडक विस्तार गर्नलाई वैकल्पिक उपाय सोच्नुपर्दछ । हामीले कुनैपनि हालतमा भत्काउन दिदैनौँ । पहरा संरक्षण गर्न रगतको खोला बगाउन परेछ भनेपनि हामी तयार छौँ ’, उनले भने । पर्यटनका लागि चुनपहरा राज्यकै गहना भएकाले सबै मिलेर जोगाउनुपर्ने उनको भनाई छ । देश विदेशबाट चुनपहरा जोगाउनलाई आवाज उठिरहेको उनी बताउँछन् ।
विमलनगरको चुनपहरा नेपालको पर्यटनको लागि कोशेढुंगा सावित हुने बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा बताउँछन् । ‘पृथ्वी राजमार्गको विस्तारको क्रममा भत्कने कुराले सबैलाई झस्काएको छ । नभत्काउनलाई हामीले सरकोकारवालासँग माग गरेका छौँ’, अध्यक्ष थापाले भने । सडक विस्तार रोक्न नहुने तर चुन पहरा जोगाउनलाई विकल्प सोच्नुपर्ने उनी बताउँछन् । चुनपहरामा गाउँपालिकाले भियाफेरता बनाउने योजना बनाएको उनले बताए । ‘पहरामा पुर्वाधार थप्दै स्थानीय युवालाई रोजगारसँग जोड्न सकिन्छ । भियाफेरता लगायतका पुर्वाधार थप्नलाई गाउँपालिकाले अध्ययन गर्दैछ’, उनले भने ।
चुनपहरा जोगाउ भन्ने नाराका साथ शुक्रबारदेखी रक क्लाइम्बिङ महोत्सव नै गरिएको थियो । नेपालमा २७ वटा क्लाइम्बिङ रुट भएको एक मात्र विमलनगरको चुनपहरा भएकाले संरक्षण गर्नुपर्ने गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरी बताउँछन् । ‘सडक सञ्जाल र खर्चको हिसाबले पर्यटकलाई चुनपहरा उपयुक्त छ । अन्तको पहरा यस्तो छैन् । तसर्थ रक क्लाइम्बिङका लागि यो नेपालकै उत्कृष्ट गन्तव्य हो’, उनले भने । चुनपहराको प्रर्बद्धन गर्न बन्दीपुरका अन्य गन्तव्यसँग जोड्न उनको सुझाव छ ।
केही दिन अगाडी मात्रै विमलनगर चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण समितिले भौतिक तथा पूर्वाधार मन्त्रालयलाई ज्ञापन पत्र समेत बुझाएको थियो । समितिले सडक विस्तारको बेला चुन पहरालाई जोगाउन तीन विकल्प समेत पेश गरेको छ । विकल्पमा हाल कायम गरिएको मापदण्ड घटाउने, पहरा क्षेत्रको मापदण्ड घटाएर नदीतर्फ बढाउने र विमलनगरको पुलबाट पारी हुदै लगभग १.५ किलोमिटर वैकल्पिक ट्रयाक खोलेर नयाँपुल हुदै निस्कने सडक बनाउन सुझाव दिईएको छ ।
सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडकखण्ड चार लेनको बन्दैछ । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाईएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिट सडक स्तरोन्नतीको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।
जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको हो । आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । सडक फराकिलो पार्ने र रुख कटानको काम सुरु भईसकेको छ । विमनगरको चुनपहरालाई कसरी जोगाउन सकिन्छ भनेर अध्ययन भईरहेको मुग्लिन पोखरा चार लेन सडक आयोजनाले जनाएको छ । आयोजना सुरुवातकै चरणमा भएकाले भईरहेको संरचनालाई असर नपु¥याइकन काम गर्ने आयोजनाले बताएको छ ।