काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारका क्षेत्रमा जाने कामदारका लागि तालिम केन्द्र स्थापना गर्ने तयारी भइरहेको जनाएको छ । सिंहदरबारमा सोमबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने काम अघि बढाइएको जानकारी दिए ।
क्षमतावान श्रमशक्ति पठाउन नसक्दा वैदेशिक रोजगार क्षेत्र धरासायी अवस्थामा पुगेको उनले बताए । स्वदेशमा रोजगार सिर्जना गर्न नसक्ने हो भने वैदेशिक रोजगारमा नै सीपयुक्त श्रमिक पठाउनुपर्ने र यसका लागि सरकारले नै तालिम दिने जानकारी दिए ।
सचिव अर्यालले अवैधानिक ढंगबाट कामदार पठाउने गर्दा समस्या देखिएको बताए । भ्रमणभिसामा श्रमिकहरु वैदेशिक रोजगार जाने गरेकाले भ्रमण भिसामा देखिएको विकृति र बिसंगतीलाई हटाउनुपर्ने उनको भनाइ छ । उनले वैदेशिक रोजगारमा जाने घरेलु कामदारले भोग्नुपरेका समस्याप्रति पनि मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिए ।
बैठकमा समिति सदस्यहरुले वैदेशिक रोजगारका क्षेत्रलाई व्यवस्थित गर्न समितिले दिएको निर्देशन पालना नभएको बताएका थिए ।