व्यास र ठाकुरबाबा नगरपालिकाबीच मितेरी सम्बन्ध कायम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास र ठाकुरबाबा नगरपालिकाबीच मितेरी सम्बन्ध कायम

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७८, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाबीच मितेरी सम्बन्ध कायम गरिएको छ । अध्ययन अवलोकन भ्रमणका लागि बर्दिया पुगेको व्यास नगरपालिकाको टोलीले उक्त नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेको हो ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले मङ्गलबार सम्झौता आदानप्रदान गरी मितेरी सम्बन्ध कायम भएको घोषणा गरेका छन् ।

    दुवै नगरपालिकाबीच धार्मिक पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन तथा पारदर्शीता कायम, अध्ययन भ्रमण, अनुभव आदानप्रदान लगायतका क्षेत्रमा काम गर्ने गरी मितेरी सम्बन्ध कायम गरिएको व्यास नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । दुवै क्षेत्रमा रहेका प्रसिद्ध धार्मिकस्थलको प्रचारप्रसार र प्रबद्र्धनलाई पनि मुख्य प्राथमिकतामा राखिएको श्रेष्ठले बताए । “व्यासजन्मभूमि दमौलीको प्रचारप्रसारका लागि यो सम्बन्धले टेवा दिने विश्वास गरेका छौ,” श्रेष्ठले भने ।

    दुवै पक्षबीच मित्रता आदानप्रदान तथा पारस्परिक भेटघाटका माध्यमबाट दुई नगरबीचको समझदारी र मित्रतालाई सुदृढ गराउन आपसी छलफल गर्दै संस्कृति, खेलकुद, शिक्षा, कृषि, उद्योग, पर्यटन, वातावरण संरक्षण एवं स्वास्थ्य, सेवा जस्ता कार्यक्रम सञ्चालन गर्ने, साझा विषयवस्तु र सिकाईका क्षेत्रहरु पहिचान गरी दुवै पक्षले प्रतिनिधिहरुमार्फत् आपसमा संस्कृति, खेलकुद, शिक्षा, कृषि, उद्योग, पर्यटन, वातावरण संरक्षण एवं स्वास्थ्य क्षेत्रका अनुभव साटासाट गर्ने सहमति भएको छ ।

    दुवै नगरका मौलिक सांस्कृतिक मेला, पर्व तथा प्रदर्शनीहरुको आयोजनामा एक आपसमा सहभागी भई मित्रता र समझदारीलाई सुदृढ बनाउने सहमति भएको छ । मितेरी सम्बन्ध पाँच वर्षसम्म कायम रहने र समय सकिएपनि दुवै पक्षबीचको सम्बन्ध कुनै पक्षले अन्त्य नगरेसम्म कायम हुँदै जाने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पारस्परिक समझदारी, सहकार्य र मित्रता अभिवृद्धिका साथसाथै दुवै नगरको मित्रवत परामर्शका माध्यमबाट भाइचाराको सम्बन्ध स्थापनाका लागि मितेरी सम्बन्धले टेवा पुग्ने बताए ।

    उक्त कार्यक्रममा व्व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य सहभागी थिए ।

    दुई पालिकाबीच मितेरी सम्बन्ध कायम गर्ने व्यास जिल्लाको तेस्रो पालिका हो । यसअघि बन्दिपुर गाउँपालिकाले गुल्मीको धुर्कोट र देवघाट गाउँपालिकाले गोरखाको सहिद लखन गाउँपालिकासँग मितेरी सम्बन्ध गाँसेको थियो ।