देवघाट र वारागुङ मुक्तिक्षेत्रबीच धार्मिक भगिनी सम्बन्ध कायम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाट र वारागुङ मुक्तिक्षेत्रबीच धार्मिक भगिनी सम्बन्ध कायम

    दुर्गानिधि काैडाल

    १३ पुष २०७८, बुधबार

    दमाैली । तनहुँको देवघाट गाउँपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्रबीच धार्मिक भगिनी सम्बन्ध कायम गरिएको छ । देवघाटको भ्रमणमा आइपुगेको मुक्तिक्षेत्रका जनप्रतिनिधिसँग बुधबार धार्मिक भगिनी सम्बन्ध कायम गरिएको हो ।

    देवघाटका अध्यक्ष दुर्गबहादुर थापा र मुक्तिक्षेत्रका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङबीच भगिनी सम्बन्ध कायमका लागि हस्ताक्षर भएको छ । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्दछ । भगिनी सम्बन्ध कायमले दुवै गाउँपालिकाको धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्र्धनमा टेवा पुग्ने देवघाटका अध्यक्ष थापाले बताए ।

    धार्मिक पर्यटनका हिसाबले दुवै गाउँपालिका महत्वपूर्ण रहेकाले भगिनी सम्बन्ध कायमले पर्यटनको प्रबद्र्धनमा सहयोग पुग्ने देवघाटका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । “मुक्तिनाथको शिरदेखि बगेको कालीगण्डकी देवघाटमा आइपुग्छ, यसले पनि मुक्तिनाथ र देवघाटलाई जोडेको छ,” उनले भने, “भगिनी सम्बन्ध कायमपछि दुवै क्षेत्रको भ्रमण, अनुभव आदानप्रदान लगायतका काम हुन्छ ।”

    उनका अनुसार दुवै गाउँपालिकामा भएका असल अभ्यासको अनुभव आदानप्रदान, संयुक्त बैठक लगायत गर्ने सहमति भएको छ ।

    सो अवसरमा मुक्तिक्षेत्रका उपाध्यक्ष दिकी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्मा लगायतको सहभागिता थियो ।

    देवघाटले यसअघि गाेरखाकाे सहिद लखन थापा गाउँपालिकासँग पनि भगिनी सम्बन्ध कायम गरिसकेकाे छ ।