


दुलेगाैडा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ को शनिबार खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागेपनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताए ।
“पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास ग¥यौ, तर केही साथीहरुको व्यक्तिगत आकाङ्क्षाका कारण पूरा हुन सकेन,” पौडेलले भने । वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनले आफूले उठाएको रुपान्तरणको प्रश्नको उत्तर दिन नसकेको बताए । “सबै साथीहरु उठ्छौ भनेपछि म प्रतिस्पर्धाबाट अलग रहे, उहाँहरुकै अनुरोधमा म प्रतिस्पर्धामा गइन,” उनले भने, “१४ औं महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर दिन सकेको छैन ।”वरिष्ठ नेता पौडेलले पार्टीमा जनताको आकर्षण बढाउन नयाँ समिति लाग्नुपर्नेमा सुझाव दिए ।
वरिष्ठ नेता पौडेलले काङ्ग्रेस गतिहिन, अव्यवस्थित र आरोपित बन्दै गएको बताए । काङ्ग्रेस जनताको बीचमा अपमानित भएको बताउँदै पार्टीलाई सम्मानित बनाउनु आजको आवश्यकता रहेको पौडेलको भनाई थियो । देशको संसदले गति लिन नसकेको बताउँदै उनले जनताको जल्दाबल्दा समस्यामा सदनमा छलफल हुन नसकेको धारणा राखे । सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्नेमा पौडेलले जोड दिए ।
उहाँले मिलेनियम च्यालेन्ज कर्पाेरेसन्स एमसीसी पारित गर्नुपर्ने बताए । पौडेलले एमसीसी राष्ट्रघाती भएको भन्दै भ्रममा पार्न खोजिएको जिकिर गरे। कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले पदस्थापन गरेका छन् ।