दुलेगाैडा । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले काले काले मिलेर खाउँ भाले गर्न नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेको आरोप लगाएका छन् । युवासङ्घ शुक्लागण्डकी नगर कमिटीको आइतबार आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै बस्नेतले गठबन्धनको उद्देश्य भनेको मिलेर खाने मात्रै भएको टिप्पणी गरे ।
गठबन्धनसँग सैद्धान्तिक विचार केही नभएको बताउँदै बस्नेतले सत्ताको दुरुपयोगका लागि गठबन्धन बनेको बताए । उनले दलाल पुँजीको विकास गर्ने, नोकरशाहीको संरक्षण गर्ने, भ्रष्टाचार गर्ने पार्टी काङ्ग्रेस भएको आरोप लगाए । प्रचण्डले काङ्ग्रेसको पुच्छर समातेर वैतर्णी तर्ने सपना देखेर शेरबहादुर देउवाको पाउमा सत्ता बुझाएको बस्नेतको भनाई थियो ।
नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका माधव नेपालको पनि बस्नेतले चर्को विरोध गरे । “विचरा माधव नेपाल, उहाँलाई चुनावी पार्टनर चाहिएको छ, विधि, कानून, पद्धति उहाँलाई चाहिएन, झ्यालैपिच्छे मन्त्री चाहिएको छ,” उनले भने ।
प्रचण्ड र माधव नेपाललाई सेना बिनाको सेनापति बनाइने बताउँदै बस्नेतले बाटो बिराएकालाई घर फर्कन आग्रह गरे । साथै उनले सच्चिएर अगाडी बढ्न देउवा, प्रचण्ड र नेपाललाई आग्रह गरे । “नत्र भने नेपाली जनताले रेलमा चढाएर प्रवासको जीवन बिताउन बाइबाइ गर्ने दिन आउन सक्नेछ,” उनले भने ।
बस्नेतले मुलुकको समृद्धिको सङ्कल्प बोक्ने पार्टी नेकपा एमाले मात्र भएको दावी गरे । एमाले बाहेक अरु पार्टीले देशको विकास गर्न नसक्ने उनको भनाई थियो । सुखी नेपाली ः समृद्ध नेपालको अभियान चुनौतिपूर्ण रहेको र उक्त चुनौति पूरा गर्ने सङ्कल्प नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको बस्नेतको भनाई थियो । मुलुकलाई समृद्धिको बाटोमा हिँडाउने नेकपा एमालेको अभियानमा साथ दिन बस्नेतले जनतासँग आग्रह गरे ।
“मुलुकको समृद्धिको सङ्कल्प बोक्ने पार्टी एमाले हो त्यसलाई जनताले साथ दिनेछन् र त्यसको पुष्टि चितवनमा सम्पन्न दशौ महाधिवेशनले गरेको छ,” पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले भने, “समृद्धि नेपाल ः सुखी नेपालीको अभिभारा एमाले बाहेक अरुले गर्न नसक्ने सक्दैनन्, केपी ओलीले अगाडी सारेका विकासका योजनालाई अन्य पार्टीले पूरा गर्न सक्दैनन् ।”
नेता बस्नेतले सङ्गठन निर्माणको अभियान लिएर नेकपा एमाले जनतामाझ आउने बताउँदै आगामी निर्वाचनबाट एमालेले बहुमत ल्याउने दावी गरे । आगामी निर्वाचनबाट नेपालमा धेरै दल नरहने उल्लेख गर्दै उहाँले एमाले सरकारमा र काङग्रेस प्रतिपक्षमा पुग्ने बस्नेतको भनाई थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै विकास निर्माणका काम गरेको बताउँदै बस्नेतले भने, “समकालिन प्रतिस्पर्धीले एमाले विरुद्ध भ्रम फैलाइरहेका छन्, त्यस्तो भ्रम चिर्न जरुरी छ ।” भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने पार्टी एमाले भएको र समाजले रुचाएका, कार्यकर्ताले मन पराएका पङ्क्ति नेकपा एमालेमा रहेको बस्नेतले बताए ।