व्यास नगरपालिकाको बजेट तथा कार्यक्रम संशोधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाको बजेट तथा कार्यक्रम संशोधन

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०७८, शनिबार

    दमौली । व्यास नगरपालिकाले चालु आर्थिक वर्ष ०७८÷७९ को बजेट तथा कार्यक्रम संशोधन गरेको छ । नगरपालिकाको शुक्रबार आयोजित ३६ औं नगरसभाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेका बजेट तथा कार्यक्रम संशोधन गरेको हो ।

    नगरसभाले बाह्य तथा अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुन आएको थप रु १४ करोड ६७ लाख ९१ हजार र सोही रकम बराबर यस अघि विनियोजन गरिएको विभिन्न आय शीर्षकबाट घटाई कूल बाह्य तथा अन्य आय रु एक अर्ब ५७ करोड ३९ लाख १२ हजार कायम गरी आन्तरिक, बाह्य र अन्य आय समेत गरी रु एक अर्ब ७७ करोड ८९ लाख १२ को संशोधित आय अनुमान कायम गरेको उपप्रमुख मीरा जोशीले जानकारी दिइन् ।

    बाह्य तथा अन्य आयमा रु एक अर्ब ५७ करोड ३९ लाख १२ हजार अनुमान गरिएकामा पुस मसान्तसम्म रु ६६ करोड ६७ लाख ४९ हजार तीन सय ५३ यथार्थ आय हुन आएको नगरपालिकाले जनाएको छ । साउनदेखि हालसम्म हासिल गरिएको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फ साविकको कूल आन्तरिक आय रु २० करोड ५० लाखलाई यथावत राखिएको छ ।

    चालु आर्थिक वर्षका लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको आय अनुमान गरिएकामा पुस मसान्तसम्म रु ७५ करोड सात लाख २२ हजार ३९ यथार्थ आय हुन आएको उपप्रमुख जोशीले जानकारी दिइन् । जसमध्ये आन्तरिक स्रोततर्फ रु २० करोड ५० लाख अनुमान गरिएकामा पुस मसान्तसम्म रु आठ करोड ३९ लाख ७२ हजार छ सय ८६ यथार्थ आम्दानी भएको छ ।

    ३५ औं नगरसभाबाट खर्चतर्फ रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजार विनियोजन गरिएको थियो । त्यसमध्ये चालुतर्फ रु एक अर्ब दुई करोड ९४ लाख १२ हजार अनुमान गरिएकामा पुस मसान्तसम्म रु ३४ करोड ३९ लाख ९८ हजार पाँच सय ९० यथार्थ खर्च भएको छ । पुँजीगततर्फ रु ७४ करोड ९५ लाख विनियोजन गरिएकामा पुस मसान्तसम्म रु १३ करोड ३६ लाख २१ हजार आठ सय ३६ खर्च भएको जनाइएको छ । यस अवधिमा चालु र पुँजीगत गरी रु ४७ करोड ७६ लाख २० हजार चार सय २६ खर्च भएको नगरपालिकाले जनाएको छ ।

    साउनदेखि हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई मध्यनजर गर्दा चालु खर्चतर्फ विभिन्न शीर्षकहरुमा साविकको व्यय अनुमानमा रु ४१ लाख ९४ हजार थप गर्ने गरी कुल खर्च रु एक अर्ब तीन करोड ३६ लाख छ हजारको संशोधित अनुमान गरिएको छ भने पुँजीगत खर्चतर्फ विभिन्न कार्यक्रमहरुमा खर्च हुने गरी साविकको व्यय अनुमानमा रु ४१ लाख ९४ हजार घटाई कूल व्यय अनुमान रु ७४ करोड ५३ लाख छ हजार संशोधित अनुमान कायम गरिएको छ ।

    सो अवसरमा नगरप्रमुख वैकुण्ठ न्यौपानेले चालु आर्थिक वर्षको ६ महिनामा भएको प्रगति विवरण सहितको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। नगरप्रमुख न्यौपानेका अनुसार चालु आर्थिक वर्षका लागि एक हजार ४७ योजना प्रस्ताव गरिएकामा ७६९ योजना सम्झौता भई सम्पन्न हुने चरणमा छन् भने दुई सय ७८ योजना सम्झौता हुन बाँकी छ ।

    चालु आर्थिक वर्षमा नगर विकास कोषसँग सम्झौता गरी नगरपालिकाको स्वामित्वमा रहेका जग्गामा पूर्व उत्तरतर्फ पुराना भवन हटाई नयाँ बहुउद्देश्यीय भवन निर्माणको प्रक्रिया अगाडी बढाइएको न्यौपानेले बताए । पुरानो भवनमा भएका शाखा उपशाखाको व्यवस्थापनका लागि हाल भएको बहुउद्देश्यीय भवनमा चौथो तला थप निर्माण कार्य भइरहेको छ ।

    चार विधेयक पारित

    नगरसभाले चार विधेयक पारित गरेको छ । सुशासन विधेयक, खेलकुद विकास विधेयक, कर्मचारी कल्याणकारी कोष विधेयक र स्थानीय बजार व्यवस्थापन विधेयक पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । विधायन समितिका संयोजक अमृत नेपालीले नगरसभामा उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए ।

    यसैगरी नगरसभाले आर्थिक ऐन, २०७८, विनियोजन ऐन, २०७८ र व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन, २०७८ संशोधन गरेको छ ।

    नगरपालिकाले हालसम्म २५ वटा ऐन, १० वटा नियमावली, ५१ वटा कार्यविधि, ९ वटा निर्देशिका, चार वटा अन्य विविध कानुन निर्माण गरेको छ । उक्त निर्माण भएका कानुनमध्ये ३२ वटा संशोधन र चार वटा खारेज गरिएको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।