दमाैली अस्पतालका चिकित्सकले तलब र भत्ता नपाएकामा श्रममन्त्रीको चासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैली अस्पतालका चिकित्सकले तलब र भत्ता नपाएकामा श्रममन्त्रीको चासो

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०७८, शनिबार

    दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दमौली अस्पतालका चिकित्सकले तलबभत्ता नपाएको विषयमा चासो व्यक्त गरेका छन् । खबरपुञ्ज डटकममा चिकित्सकले तलबभत्ता नपाएको गुनासो गरेको समाचार प्रकाशित भएपछि मन्त्री श्रेष्ठले चासो व्यक्त गरेका हुन् ।

    अग्रपङ्क्तिमा खटिएका चिकित्सकले समयमै तलबभत्ता नपाउनु दुःखद रहेको भन्दै मन्त्री श्रेष्ठले समस्या समाधानका लागि आफूले पहल गर्ने बताए । “मलाई पनि आधिकारिक रुपमा केही जानकारी भएको छैन, समाचार हेरेर थाहा पाएको हूँ,” उनले भने, “सम्बन्धित निकायबाट विस्तृत रुपमा जानकारी पाएपछि मैले गर्नुपर्ने सबै सहयोग गर्छु ।”

    यसबारेमा आफूलाई पीडित चिकित्सक र अस्पताल व्यवस्थापन समितिले अहिलेसम्म जानकारी नगराएको मन्त्री श्रेष्ठले बताए । “चिकित्सकले प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापनपत्र बुझाएको थाहा पाएँ, प्रजिअले पनि जिल्लाकै मन्त्रीको हैसियतमा मलाई जानकारी गराउनुभएको छैन,” उनले भने ।

    मन्त्री श्रेष्ठले सङ्घ वा प्रदेश सरकार कहाँबाट तलबभत्ता निकासाका लागि पहल गर्नुपर्ने हो त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    दमौली अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजु राना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. सञ्जिव भण्डारी, डा. कृष्ण गिरी र डा. सुशील विकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएपछि शुक्रबार प्रजिअलाई ज्ञापनपत्र बुझाएका थिए ।

    अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सकले गत असोज महिनादेखि तलब पनि पाएका छैनन् । तलब नपाएपनि चिकित्सकहरुले बिना पारिश्रमिक काम गरिरहेका छन् । कोभिड महामारीमा ज्यान जोखिममा राखी गरेको कामको लागि सरकारले जोखिमभत्ता दिने निर्णय गरेपनि अस्पतालमा कार्यरत चिकित्सकले भने भत्ता नपाएको गुनासो गरेका छन् ।

    चिकित्सकले दमौली अस्पतालका प्रमुखलाई माघ १६ गते नै निवेदन दिएर २३ गतेभित्र तलबभत्ता उपलब्ध गराउन माग गरेका थिए । २३ गतेभित्र तलबभत्ता उपलब्ध नभए दैनिक कामकाज रोक्ने उनीहरुको चेतावनी छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।