भूमि आयोग तनहुँका अध्यक्ष भन्छन् : पहिल्यै फारम भरेकाले पुनः भर्नुपर्दैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूमि आयोग तनहुँका अध्यक्ष भन्छन् : पहिल्यै फारम भरेकाले पुनः भर्नुपर्दैन

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०७८, आईतवार

    दमाैली । भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले यसअघि नै फारम भरिसकेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले पुनः फारम भर्नुनपर्ने बताएका छन् । भूमि आयोगले जिल्लाका सबै पालिकासँग सहमतिपत्रमा हस्ताक्षर गरेर काम अगाडी बढाएको छ ।

    अधिकारीका अनुसार व्यास नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकासँग सम्झौता गरिएको छ ।

    यसअघिको आयोगले गरेका कामलाई वर्तमान आयोगले निरन्तरता दिने अधिकारीले बताए । जिल्लाका सबै पालिकाले यस अगाडी नै भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरिसकेको छ । “यसअगाडीको आयोगले जति काम सम्पन्न गरेको छ, हामी त्यहीँबाट कामलाई निरन्तरता दिन्छौ,” उनले खबरपुञ्जसँग भने, “त्यसबेला फारम भर्न छुट भएकाहरुले अब फारम भर्न मौका पाउँछन् ।”

    पहिल्यै फारम भरिसकेकाहरुले पुनः फारम भर्न नपर्ने अधिकारीले बताए । “केही कारणले पहिला कोही छुट भएका छन् भने उनीहरुलाई मौका दिइनेछ, भरिसकेकाले पुनः भर्नुपर्दैन,” अधिकारीले भने । ३५ दिने सूचना प्रकाशित गरी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनको तयारी गरिएको अधिकारीले जानकारी दिए ।

    “स्थानीय तहलाई यसको प्रकृयाका बारेमा जानकारी गराइसकेका छौ, हिजोका दिनमा कति फारम भरिएका छन् त्यसको सबै विवरण आयोगको केन्द्रीय कार्यालयमा बुझाउँछौ,” उनलेभने । वर्तमान आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिएर छाड्ने प्रतिबद्धता जनाउँदै अधिकारीले भने, “म पूर्ण रुपमा विश्वस्त छु, हामी यो काम गरेरै छाड्छौ ।”

    यसअगाडीको आयोगले जिल्लाका दश स्थानीय तहमा करिब २६ हजार भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरेको थियो ।

    यसैबीच शुक्लागण्डकी नगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरेको छ । लगत सङ्कलन कार्यविधि, २०७७ बमोजिम नगरपालिकामा गत वर्ष २०७७ माघ र फागुन महिनामा फाराम भई निवेदन दर्ता निस्सा लिनुभएका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी बाहेक अन्य छुटेका र बाँकी रहेकाले आयोगले तोकेको ढाँचामा निवेदन फारम भर्न सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले बताउनुभयो । नगरपालिकाले माघ १८ गते सूचना जारी ३५ दिनभित्र नगरपालिकाको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।