स्थानीय तहको निर्वाचन मिति घोषणाका लागि दबाब दिन अनेरास्ववियुको सडक बहस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीय तहको निर्वाचन मिति घोषणाका लागि दबाब दिन अनेरास्ववियुको सडक बहस

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०७८, आईतवार

    दमौली । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दबाब दिने उद्धेश्यले नेकपा एमाले निकट अनेरास्ववियु तनहुँले आइतबार दमौलीमा सडक बहस गरेको छ ।

    पॉच दलीय गठबन्धनले स्थानीय तहको मिति घोषणाका लागि आलटाल गरेको भन्दै अनेरास्ववियुले मिति तोक्न दबाब दिन सडक बहस गरेको हो ।

    कार्यक्रममा नेपाल वार एसोसिएसन तनहुँका अध्यक्ष भानुभक्त सुवेदीले स्थानीय तहको निर्वाचन सकिएको छ महिनाभित्र निर्वाचन गर्न पाउने व्यवस्था कानूनमा रहेको बताए । निर्धारित समयमै निर्वाचन गराउन सरकार बाध्यकारी रहेको उनले उल्लेख गरे ।

    नेपाल बार एसोसिएसन कास्कीका पूर्व अध्यक्ष कमल अर्यालले पॉच दलीय गठबन्धन स्थानीय तहको मिति सार्ने षडयन्त्रमा रहेको बताए। निर्वाचन सम्बन्धी ऐनमा पहिलो निर्वाचनको मिति सुरु भएको मितिबाट गणना हुने भएकाले सोही मितिलाई आधार मानेर निर्वाचन गर्नुपर्ने प्रष्ट व्यवस्था रहेको उनले भने, “विभिन्न कारण देखाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ, त्यसका लागि सबैको खबरदारी आवश्यक छ ।”

    नेपाल बार एसोशिएसनका पूर्व अध्यक्ष शिवदत्त ढकालले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले समयमै निर्वाचन हुनुपर्ने बताए । संविधान र कानूनले स्थानीय तहको समय थप गर्ने व्यवस्था नगरेको ढकालले बताए । “जनप्रतिनिधि बेगरको स्थानीय तहको परिकल्पना गरिएको छैन,” उनले भने, “त्यही कारण समयमै निर्वाचन अपरिहार्य छ ।”

    नेकपा एमालेका उपाध्यक्ष हरिराज कंडेल र उपसचिव प्रदीपराज अधिकारीले कुनैपनि बहानामा स्थानीय तहकाे निर्वाचन नसार्न सरकारलाई चेतावनी दिए ।

    अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी सचिव आरके पोखरेलले परमादेशी सरकारले स्थानीय तहको मिति घोषणा गर्न ढिलाई गरेकाले मिति घोषणाका लागि दबाब दिन देशभर सडक बहस गरिएको जानकारी दिए । “पॉच दलीय गठबन्धनको सरकार एमालेसँग प्रतिस्पर्धा गर्न डराइरहेको छ,” उनले भने, “सरकारले मिति घोषणा नगरेसम्म अनेरास्ववियु सडकमा रहन्छ ।”

    कार्यक्रम अनेरास्ववियु तनहुँका अध्यक्ष नवीन वाग्लेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।