बन्दीपुरको रामकोटमा घरबास सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरको रामकोटमा घरबास सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०७८, आईतवार

    दमौली । चिटिक्क परेका घर । घर अगाडी ढुङ्गा छापिएको सडक । प्रत्येक घर अगाडी मकैको सुली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–३ मा रहेको रामकोट गाउँको चिनारी हो यो । मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासी घरबास सञ्चालनका लागि कस्सिएका छन् ।

    उक्त घरबासको शनिबार गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गरेका छन् । सो अवसरमा चुमानले घरबासमा स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पर्यटकीय गाउँ रामकोटमा सञ्चालन गरिएको घरबासले बन्दीपुरको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उल्लेख गरे ।

    घरबास सञ्चालनका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट रु १५ लाख बजेट सहयोग गरिएको छ । उक्त बजेट पूर्वाधार निर्माण गरिएको छ । रामकोट गाउँ मुख्यमन्त्री जैविक जलवायुमैत्री गाउँको रुपमा समेत छनौट भएको छ ।

    गाउँपालिकाले यहाँका स्थानीयवासीलाई आयआर्जनको काममा सहयोग गर्दै आएको छ । प्रत्येक घरमा तरकारी खेतीका लागि सहयोग र बाख्रापालनका लागि बाख्राखोर निर्माणमा पालिकाले सघाएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।

    विसं २०७५ सालमा १४ घर समावेश गरेर रामकोट घरबास व्यवस्थापन समिति दर्ता गरिएको थियो । दर्ता भएपनि कोभिड–१९ को प्रभावका कारण घरबास सञ्चालनमा ढिलाई भएको थियो । औपचारिक उद्घाटन शनिबार भएपनि यसभन्दा अगाडी नै घरबासमा पर्यटकको आगमन भइसकेको थियो ।

    घरबास व्यवस्थापन समितिका अध्यक्ष बिहीसरा आलेका अनुसार १४ घरले तालिम लिएर सुरु भएको घरबासमा अहिले ३० भन्दा बढीमा घरमा पाहुना राख्न सकिन्छ । “कोभिड महामारीका कारण केही समय घरबास सञ्चालनमा समस्या भयो । रामकोट आउने पाहुनालाई स्थानीय युवा क्लवले सांस्कृतिक कार्यक्रम देखाउने गरेको छ । “स्थानीय संस्कृति र अर्गानिक खानेकुरालाई जोड दिएका छौ,” आलेले भनिन्, “यहाँ आएका आन्तरिक पर्यटक सन्तुष्ट नै भएको पाएका छौ ।”

    यहाँका स्थानीयवासीलाई घरबास आर्थिक उपार्जनको माध्यम समेत बनेको छ । पृथ्वीराजमार्गको व्यास नगरपालिका–१२ छिर्कने हुँदै र बन्दीपुर बजारदेखि रामकोट पुग्न सकिन्छ । बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारदेखि रामकोट पुग्न साइकल लेन समेत निर्माण गरेको छ । बन्दीपुर आएका विदेशी पर्यटक पनि साइकल लेनको बाटो पैदल हिँडेरै रामकोटसम्म पुग्ने गरेका छन् । रामकोटको घरबासलाई जोड्ने उद्देश्य सहित गाउँपालिकाले ४.८ किलोमिटर साइकल लेन निर्माण गरेको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।