तनहुँमा उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७९, आईतवार

    दमौली । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार र सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेकामा तनहुँमा सम्पूर्ण तयारी पूरा भएको हो ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले दशवटै पालिकामा उम्मेदवारी दर्ताका लागि तयारी पूरा भएको जानकारी दिए । चार नगरपालिका र छ गाउँपालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

    उम्मेदवारी दर्ताका लागि समय व्यवस्थापन गर्ने उद्देश्यसहित आज जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिसँग बैठक सम्पन्न गरेको छ । बैठकले समय नजुध्ने गरी समन्वय गरेर उम्मेदवारी दर्ताका लागि समय व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    निर्वाचन कार्यालयले आफ्नो तयारी पूरा गरेपनि राजनीतिक दलले भने उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र लगायत साना राजनीतिक दलहरुले उम्मेदवार टुङ्गो लगाउन आन्तरिक बैठकमा व्यस्त छन् ।

    निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच तथा उजुरी उपर जाँचबुझ र निर्णय, वैशाख १५ गते मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन, वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, वैशाख १७ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान प्रदान गरिनेछ ।