कांग्रेसबाट राजिनामा दिँदै पूर्व सचिव बास्तोलाले भने, व्यासमा नेतृत्व परिवर्तन आवश्यक छ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेसबाट राजिनामा दिँदै पूर्व सचिव बास्तोलाले भने, व्यासमा नेतृत्व परिवर्तन आवश्यक छ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७९, मंगलवार

    दमाैली । नेपाली कांग्रेस तनहुँका पूर्व सचिव विश्व बास्तोलाले राजिनामा दिएका छन् । पार्टीका संगठन विभाग प्रमुख रहेका बास्तोलाले मंगलबारदेखि लागु हुने गरी राजिनामा दिएका हुन् ।

    रिपोर्टस् क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्तोलाले व्यासमा अब नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । विगत पाँच वर्षको अवधिमा व्यासमा एउटा गर्व गर्न लायक काम नगरेका व्यक्तिलाई पुनः पार्टीले टिकट दिएकोप्रति बास्तोलाले भने, “उहाँ बाहेक अरु क्षमतावान् साथीहरु आएको भए ठिक थियो, तर फेल भएका व्यक्तिलाई पुनः टिकट दिइयो ।”

    कांग्रेस छाडेपनि आफू अरु पार्टीमा नजाने बताउँदै बास्तोलाले भने, “लामो समयदेखि कांग्रेसमा आबद्ध मलाई कांग्रेसबाट न्याय मिलेन, अरु पार्टीमा जान्न ।” आफू पार्टी जीवनबाट स्वतन्त्र बस्ने र समाज सुधारको पक्षमा सदैव लागिरहने प्रतिबद्धता जनाए । नेपाली कांग्रेस तनहुँका कार्यकर्ता यतिबेला चरम गुटबन्दीको शिकार भएको बास्तोलाले बताए ।

    कार्यक्रममा कांग्रेस शुक्लागण्डकीका नेता महेश्वर भट्टराईले पार्टीमा योगदान गरेका भन्दा नेतालाई योगदान गरेकालाई टिकट दिने प्रचलन बढेको बताउँदै आफूले शुक्लागण्डकीको मेयरमा स्वतन्त्र उम्मेदवारी हालेको बताए । लोभी, पापीलाई मात्रै नेतृत्वले अवसर दिएको भन्दै उनले अब स्वतन्त्र जीवन निर्वाह गर्ने बताए ।

    नेपाली कांग्रेस व्यास नगर समितिका पूर्व सचिव चुडामणि दाहालले कामको मूल्यांकन नभएको भन्दै आसेपासे मात्रै पार्टीमा हावी भएको भन्दै व्यास १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । जनतामाझ लोकप्रिय भन्दा पनि नेताको चाकडी गर्नेलाई पार्टीले प्राथमिकता दिएको उनको आरोप थियो ।

    कांग्रेस शुक्लागण्डकी नगर समितिका सचिव दीपेन्द्र पौडेलले जनमत भएका व्यक्तिलाई पार्टीले अगाडी बढाउन नसकेको भन्दै आफूले राजिनामा दिएको उल्लेख गरे । शुक्लागण्डकी नगरपालिका–८ का ऋषिराम महत, व्यास–३ का बाबुराम बगाले, व्यास–२ का दीर्घबहादुर थापा लगायतले पार्टी नेतृत्व गलत बाटोमा हिँडेको बताए ।