दमाैली । नेपाली कांग्रेसका तर्फबाट व्यास नगरपालिकाका मेयर उम्मेदवार वैकुण्ठ न्यौपानेको चुनावी अभियान व्यास–१३ बेलवासबाट सुरु भएको छ । न्यौपानेले शनिबारदेखि अभियान सुरु गरेका हुन् ।
बेलबासमा आयोजित कार्यक्रममा न्यौपानेले यस क्षेत्रको समस्याका बारेमा आफू जानकार रहेको बताए । बुद्धसिं मार्ग, बेनीकोट मार्ग, केशवटार मार्गलाई व्यवस्थित गर्ने समस्या रहेको भन्दै उनले प्रदेश र संघीय सरकारको समन्वयमा यी मार्गको समस्या समाधान गर्ने न्यौपानेले आश्वासन दिए ।
यस पटकको उम्मेदवार छनौटमा मनोवैज्ञानिक असरलाई अन्त्य गरेको बताउँदै न्यौपानेले पार्टीभित्र एकताको अभियान उम्मेदवारी छनौट प्रक्रियाबाट सुरु भएको बताए ।
कार्यक्रममा उपमेयरका उम्मेदवार इन्दिरा दरै, वडाध्यक्षका उम्मेदवार बसन्तबहादुर आले लगायतले बोलेका थिए ।