दमाैली । तनहुँका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश हरिशचन्द्र ढुङ्गानाले स्वतन्त्र र भयरहित निर्वाचनको प्राणवायु आचारसंहिता भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँले शनिबार दमाैलीमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले आचारसंहिता पालनामा अझैपनि सरोकारवाला गम्भीर हुन नसकेको बताए ।
ढुङ्गानानाले सबैले आचारसंहिता पालना गर्नुपर्ने बताए। पत्रकार एउटा पक्षको मात्र नभई सबै पक्षको हुनुपर्नेमा उनकाे जाेड थियाे । निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आफूहरु प्रतिबद्ध रहेको उनकाे भनाई थियो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले स्थानीय तह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । लोकतन्त्रलाई सही ढङ्गबाट अगाडी बढाउन निर्वाचन आवश्यक रहेको भन्दै निर्वाचनबाट सक्षम नेतृत्व चयनका लागि पत्रकारहरुले आवाज बुलन्द गर्नुपर्ने उनकाे भनाई थियो । पत्रकारहरुले सधै तटस्थ भूमिका प्रदर्शन गर्नुपर्ने र निर्वाचनका बेला अझ त्यसको महत्व रहेको बताउँदै पोख्रेलले भने, “पत्रकारले कुनै पार्टीको प्रचारप्रसार गर्न हुँदैन, पत्रकारमाथि कसैले पनि औला ठड्याउने अवस्था आउन नदिन सजग हुनुपर्छ । तटस्थ भूमिका प्रदर्शन गर्नेतर्फ सचेत हुनुपर्छ ।”
नेपाली पत्रकारिता क्षेत्र तटस्थ छ भनेर स्थापित गर्न जरुरी रहेको बताउँदै पोख्रेलले आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्ने बताए। “पत्रकारहरुको आफ्नै पनि आचारसंहिता छ, आचारसंहिता पालनाले पत्रकारलाई चरित्रवान बनाउँछ,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पत्रकारहरुले यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले सूचना प्रवाह गर्ने काममा प्रतिबद्ध रहेको बताए। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, जिल्ला अध्यक्ष उज्वल पौडेल लगायतले पत्रकार आचारसंहिताका विषयमा धारणा राखेका थिए ।