दमौली । नेपाली कांग्रेस पूर्वसहममहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी बनाएर स्थायी बनाउन रोक्ने वैकुष्ठ न्यौपाने भएकाे आराेप लगाएका छन् । व्यास नगरपालिका–१० बैरेनी, दरै भवनमा नेकपा एमाले र जोशी समूहकाे आइतबार आयाेजित संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जाेशीले उक्त कुरा बताएका हुन् ।
‘म शिक्षामन्त्री हुँदा आदिकविलाई स्थायी बनाउन प्रतिनिधि पठाएको थिएँ तर तत्कालिन क्याम्पस प्रमुख न्याैपानेले आफ्नो जागिर जोगाउन सरकारी बनाउन दिएनन्,’ जोशीले भने। तनहुँमा एउटा पनि सरकारी क्याम्पस नहुँदा आफैले स्थापना गरेको आदिकविलाई सरकारी बनाउन त्रिभुवन विश्वविद्यालयबाट टोली पठाएको स्मरण गर्दै जोशीले त्यो टोलीलाई न्यौपानेले फर्काएको र आजसम्म पनि सरकारी नहुँदा जनताले चन्दा दिनुपर्ने अवस्था आएकाे बताए ।
न्यौपाने मेयर भएको समयमा दमौली र आसपासको क्षेत्रको विकास अवरुद्ध भएकाे जाेशीकाे आराेप थियाे । व्यास नगरपालिकाको १४ वटा वडा पुग्ने क्रममा एक अर्ब ७० करोडको बजेट हुँदा पनि जनताको समस्या ज्यूँका त्यूँ रहेको र जनताको कुरा सुन्दा दुःख लागेको उनले बताए ।
‘नगरपालिका नगरपालिका जस्तो छैन फेरि पनि उही उम्मेदवारलाई किन भोट दिने ? नेता जोशीले भने।
विपी विचार समाजका सचिव हरिशरण पण्डितले माओवादीसँग भन्दा एमालेसँगको गठबन्धन पवित्र भएको बताए ।