दुलेगौँडा । २०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ मा नेकपा एमालेले क्लिनस्विप पारेको थियो । नेकपा एमालेका जगतबहादुर गुरुङले ७४० मत ल्याएर जित हासिल गरेका थिए । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका सुमनबहादुर राना मगरले ५६३ र नेकपा माओवादी केन्द्रका शरन सापकोटाले ३१७ मत पाए ।
यसपाली पनि नेपाली कांग्रेसबाट वडाध्यक्षमा समुनले उम्मेद्वारी दिदैँ चुनावी मैदानमा उत्रिएका थिए । एमालेको गढ भनिएको वडामा यसपालि उनै कांग्रेसका राना मगर विजयी भएका छन् । आइतबार राती आएको अन्तिम मतपरिणामा उनी ५९ मतान्तरले विजयी भएका छन् । वडामा दुई हजार ३४६ मत खसेको थियो । वडाध्यक्षमा विजयी मगरले ९२५ मत पाए । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका तिर्थराज खनालले ८६६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका शंकर पन्तले ४२१ मत पाएका छन् ।
वडा सदस्यमा भने भारी मतान्तरले नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । शुक्लागण्डकी नगरपालिकामा १ देखि ४ नम्बर वडाको अन्तिम मतपरिणाम आएको छ । चारै वडामा कांग्रेस विजयी भएको छ । वडा नम्बर २ बाहेकको वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो ।