दमाैली । तनहुँको व्यास नगरपालिका–८ मा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन आयोगको वैशाख ३१ गतेको निर्णय बमोजिम व्यास–८ को दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त वडाभित्र सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
वैशाख ३० गते मतदानका लागि उक्त वडामा प्रमुखका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएपछि निर्वाचन आयोगले मतदान रद्द गरी जेठ ४ गते गाविस भवन (क) र (ख) मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय भएको छ ।
उक्त दिन उक्त वडाभित्र अनुमति प्राप्त सवारी साधन, कुटनीतिक नियोगका सवारी साधन र अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनहरु बिहान ५ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए।
फाइल तस्वीर