दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबारसम्म तनहुँका सातवटा पालिका र ५१ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका सात पालिकामध्ये नेकपा (एमाले)ले चार, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक पालिका जितेका छन् ।
त्यस्तै मतपरिणाम सार्वजनिक भएका ५२ वडामध्ये एमालेले २२, कांग्रेसले २४ र माओवादीले छ वडामा जित हासिल गरेका छन् । शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मतगणना जारी छ ।
व्यास नगरपालिकाको भने बुधबार दुईवटा मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै मतगणना गर्ने तयारी छ । एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ ।
एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ । नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष र बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा देवघाट गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी भएका छन् ।
देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको छ । त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी भएका छन् ।
आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल र देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी भएका छन् ।
ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी भएका छन् ।
एमालेले म्याग्दे–१, म्याग्दे–३, म्याग्दे–७, बन्दीपुर–१, बन्दीपुर–४, बन्दीपुर–६, घिरिङ–२, घिरिङ–३, घिरिङ–४, देवघाट–१, देवघाट–४, भिमाद–२, भिमाद–३ मा, भिमाद–७, भिमाद–८, भिमाद–९, भानु–२, शुक्लागण्डकी–५, शुक्लागण्डकी–६, शुक्लागण्डकी–८ र आँबुखैरेनी–६ को वडाध्यक्ष जितेको छ ।
कांग्रेसले भिमाद–१, भिमाद–४, भिमाद–६, म्याग्दे–२, म्याग्दे–४, म्याग्दे–५, म्याग्दे–६, ऋषिङ–२, ऋषिङ–३, ऋषिङ–४, ऋषिङ–५, ऋषिङ–६, घिरिङ–१, शुक्लागण्डकी–१, शुक्लागण्डकी–२, शुक्लागण्डकी–३, शुक्लागण्डकी–४, देवघाट–२, देवघाट–५, आँबुखैरेनी–३, आँबुखैरेनी–४, भानु–१, भानु–१२ र बन्दीपुर–३ को वडाध्यक्ष जितेको छ ।
माओवादी केन्द्रले आँबु–१, आँबुखैरेनी–२, ऋषिङ–१, बन्दीपुर–२, बन्दीपुर–५ र आँबुखैरेनी–५ को वडाध्यक्ष जितेको छ । स्वतन्त्र उम्मेदवारले भानु–१३, ऋषिङ–७ र ऋषिङ–८ को वडाध्यक्ष जितेको छ ।
दोहोरिन खोज्दा चार पराजित
२०७४ को स्थानीय तहको निर्वाचनबाट विजय भएर पुनः दोहोरिन खोज्ने तीन पालिकाका प्रमुख यसपटक पराजित हुनुभएको छ । एमालेबाट देवघाटको अध्यक्षमा दोहोरिनुभएका दुर्गाबहादुर थापा यसपटक पराजित भएका छन् ।
काङ्ग्रेसबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा दोहोरिनुभएका गिरबहादुर थापा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दोहोरिनुभएका मायादेवी राना यसपटक पराजित भए । यस्तै बन्दीपुर गाउँपालिकाको अध्यक्षमा दोहोरिनुभएका पूर्णसिं थापा र उपाध्यक्ष करुणा गुरुङ झिनो मतान्तरले पराजित भए ।