दमाैली । शुक्लागण्डकी नगरपालिकाले किसान सूचीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले साेमबार उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
यो कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा वडा नम्बर १०, ११ र १२ मा किसानलाई सूचीकरण गरिनेछ । आगामी आर्थिक वर्षमा नगरपालिकाका अन्य वडामा यो कार्यक्रम विस्तार गरिने विकले बताए ।
किसान सूचीकरण कार्यक्रम अन्तर्गत वास्तविक किसानहरुको सूचीकरण गरी अनुदान लगायतका सुविधा वास्तविक किसानलाई प्रदान गर्ने उद्देश्य राखिएको छ । कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा स्थापित गर्दै युवाहरुलाई आधुनिक तथा व्यावसायिक कृषिमा जोडिने विकले बताए ।
नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन यो कार्यक्रमले भूमिका खेल्ने विकले विश्वास व्यक्त गरे ।