‘एकचोटि आक्रमण गरेको चितुवाले पुनः आक्रमण गर्न सक्छ, सतर्क हुनुपर्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘एकचोटि आक्रमण गरेको चितुवाले पुनः आक्रमण गर्न सक्छ, सतर्क हुनुपर्छ’

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०७९, आईतवार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिकामा केही घण्टाको फरकमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । शनिबार राति ८ः३० बजे र आइतबार बिहान २ः३० बजे चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुवै आक्रमणको घटनास्थल दुई सय ५० मिटर वरपर रहेको छ ।

    बन्दीपुर गाउँपालिका–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बागदलेमा भिमलाल गरञ्जा चितुवाको आक्रमणमा परेका छन् । दुवै आक्रमणको घटना घरमै भएको हो ।

    एकचोटी आक्रमण गरेको चितुवाले पुनः आक्रमण गर्न सक्ने सम्भावना भएकाले सतर्क रहन डिभिजन वन कार्यालय तनहुँले आग्रह गरेको छ । सहायक वन अधिकृत काशीराज पण्डितले उक्त चितुवाले फेरि मानिसलाई आक्रमण गर्ने सम्भावना भएकाले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरे ।

    “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाऔं, झाडी सफा गरौं, एक्लै नहिँडौ,” उनले भने, “बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौ ।”

    पछिल्लो केही वर्ष यता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । मृग, वन कुखुरा लगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको वनको भनाई छ । “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फ सबै लाग्नुपर्छ,” उनले भने ।