दमाैली । तनहुँको व्यास नगरपालिकाका १८ जना कर्मचारीको बढुवा बदर भएको छ । नगरपालिकाले गत वर्ष गरेको बढुवा लोक सेवा आयोगले बदर गरेको हो ।
नगरपालिकाले सातौ तहबाट आठौ तहको अधिकृतमा राजेन्द्र कार्की र कुमारकञ्चन जिसीको बढुवा गरेको थियो । छैटौबाट सातौ तहको अधिकृतमा मेघराज आचार्य, गोकर्णराज वाग्ले, रविन्द्रलाल मूल, कृष्णराज घिमिरे र रामचन्द्र हड्खलेको बढुवा भएको थियो ।
त्यस्तै सहायक स्तर पाँचौबाट अधिकृतस्तर छैटोमा भेषराज तिवारी, विनोद गौतम, व्यास–५ का वडा सचिव विश्व पौडेलको बढुवा भएको थियो । यसैगरी चौथोबाट पाँचौ स्तरमा व्यास–१३ का सचिव विष्णु जोशी, यमप्रसाद पौडेल र तिलकुमारी शाहीको बढुवा भएको थियो । नगरपालिकाले ३५ औं नगरसभाबाट स्थानीय तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्ने गरी ऐन पास गरेको थियो । आयोगले बढुवा गरिदिएसँगै कर्मचारी पुनः साविककै पदमा घटुवा भएका छन् ।
प्रदेश लोक सेवा आयोगले बढुवा गरिएका कर्मचारीको बढुवा बदर भएको परिपत्र गरेको छ । स्थानीय तहले आफ्नो कर्मचारीको सेवा, शर्त सम्बन्धी कानून बनाउँदा आयोगको परामर्श लिनुपर्ने व्यवस्था अनुसार परामर्श लिएर मात्र कानून बनाउनुपर्नेमा केही स्थानीय तहले परामर्श बिना कानून जारी गरी बढुवा गरेको आयोगका सचिव विनोदबहादुर कुंवरले जानकारी दिए ।
आयोगमा उजुरी प्राप्त भएपछि सम्बन्धित स्थानीय तहमा स्थलगत रुपमा निरीक्षण गर्दा आयोगको परामर्शबिना कर्मचारीको सेवा, शर्त सम्बन्धी ऐन जारी गरी बढुवा गर्ने गराउने कामकारवाही गरेको पाइएकाले सो ऐन अनुसार गरेका कामकारवाही प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४३ अनुसार बदर गरिएको उनले बताए ।
आयोगले कर्मचारीको सेवा, शर्त सम्बन्धी कानून बनाउँदा तथा कानून बनाई कर्मचारीको नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा प्रदेशक लोक सेवा आयोग ऐन, २०७६ को दफा ९ को उपदफा (५) को व्यवस्थालाई अनिवार्य रुपमा पालना गर्न अनुरोध गरेको छ ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बढुवा बदर गरिएको पत्र आयोगबाट प्राप्त भएकाले त्यसलाई कार्यान्वयन गरिने बताए । “पत्र प्राप्त भएको छ, नगर सभा वा कार्यपालिका बैठक बसेर त्यसलाई कार्यान्वयन गर्छौ,” उनले भने, “आयोगको परामर्श लिएर पुनः प्रक्रिया अगाडी बढाउँछौ ।”