काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणले सडक विभागको लापरबाहीका कारण पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनीमा बाटो भासिँदा दुई यात्रुहरुले ज्यान गुमाउनुपरेको बताएका छन्।
सोमबार गृहमन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा गृहमन्त्री खाँणले सडक विभागको लापरबाहीका कारण दुई नागरिकले ज्यान गुमाउनुपरेको बताएका हुन्। उनले उक्त सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको र र सडक चर्किसक्दासमेत हेलचेक्राँइ गरेको बताए।
गृहमन्त्री खाँणले नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा रहेको बताउँदै राज्यका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए। उनले प्रविधिसँगै रेडियो, टिभीबाट विपद्को जोखिमका सूचना कम प्रवाह हुने गरेको बताए। गृहमन्त्री खाँणले जोखिम सम्बन्धी पूर्व सूचना प्रशारणका कामलाई राष्ट्रव्यापी बनाउनुपर्ने बताए। गृहमन्त्री खाँणले विपद्लाई व्यवस्थापन गर्ने र विपद्लाई ह्याण्डिल गर्ने क्रममा स्थायी रुपमा नै सूचना प्रशारणको सिस्टम विकास गर्नुपर्ने बताए।