अन्तर्राष्ट्रिय विमानस्थलसँगै भैरहवामा खुल्यो श्रम कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अन्तर्राष्ट्रिय विमानस्थलसँगै भैरहवामा खुल्यो श्रम कार्यालय

    खबरपुञ्ज संवाददाता

    १ असार २०७९, बुधबार

    रुपन्देही । रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै वैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेपछि श्रम स्वीकृतिका लागि काठमाडौँ जानुपर्ने बाध्यता टरेको छ ।

    यहाँबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि श्रम स्वीकृति लिन काठमाडौँ जानुपर्ने अवस्था थियो ।

    विदेश जानेहरूका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम भैरहवामै हुने भएपछि श्रम स्वीकृतिको लागि काठमाडौं धाइरहनुपर्ने बाध्यता टरेको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बुधवार भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै म्यानपावर कम्पनीहरूलाई भैरहवामा कार्यालय खोलेर थप सहजता अपनाउन आग्रह गरेका छन् ।

    उनले भैरहवा कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्वीकृति गर्दै कार्यालय सुचारु गरेका हुन् ।

    ‘विदेश जाने व्यक्तिलाई सीप सिकाउनको लागि आगामी बजेट मार्फत सातै प्रदेशमा सीपमूलक तालिमको कार्यक्रम ल्याउन लागिएको छ, वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट हुँदैन’, उनले भने ।

    भैरहवावासीको वर्षौँदेखिको सपना पूरा गर्न कामको सुरुवात भएको भन्दै छिट्टै नै उपसचिवको दरबन्दी ल्याउनले मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए ।

    सांसद प्रमोद यादवले भैरहवामा कार्यालय खोलेर मात्रै नहुने भन्दै वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गरिदिन आग्रह गरेका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले कार्यालयको कामलाई सहज ढंगले अगाडि बढाउनको लागि म्यानपावर कम्पनी पनि आवश्यक रहेकोले भैरहवामा आउने म्यानपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको बताए ।

    प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकोले सरकारले सुविधा दिएमा म्यानपावर कार्यालयहरू खोल्न तयार हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए ।

    देशमा म्यानपावर कम्पनीलाई बदमान गराउने गिरोह रहेकोले सरकारले त्यस्ता गिरोहको खोजी गरी कारबाही गर्नु पर्ने बताउँदै म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा जानेलाई सहयोगी भूमिका निर्वाह गरेकोले बिचौलियाबाट जोगिन सर्वसाधारणलाई अध्यक्ष ढकालले आग्रह गरे ।

    भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै कुवेतको जजिरा एयरले हप्तामा तिन दिन उडान गरिरहेको छ । छिट्टै नै अन्य देशका नियमित उडान गर्ने तयारीमा छन् ।

    विदेशबाट आएका जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेर भारतको दिल्ली जाने वा घण्टौँसम्म जोखिम मोलेर आकाशमा उडीरहनुपर्ने बाध्यता हटेको छ ।