दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारबाट सेवा प्रवाह गर्दै आएको यातायात व्यवस्था कार्यालयले बुधबारदेखि नयाँ ठाउँबाट सेवा प्रवाह सुरु गरेको छ । कार्यालयले बन्दीपुर गाउँपालिका–४ विमलनगरबाट सेवा प्रवाह सुरु गरेको हो ।
कार्यालयले विमलनगरबाट सेवा प्रवाहका लागि एक घर पाँच वर्षका लागि भाडामा लिएको छ । डुम्रेस्थित कार्यालयबाट बिलबुक नवीकरण मात्रै हुँदै आएकामा सवारी साधन दर्ता सुरु भइसकेको र सवारी चालक अनुमति (लाइसेन्स) वितरण कार्य सुरु गर्ने तयारी गरिएको कार्यालय प्रमुख विष्णु केसीले जानकारी दिए।
जिल्लाबाटै सवारी साधन दर्ता हुने भएपछि सवारी साधन दर्ताका लागि पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ । सवारी साधन दर्ताका लागि भने हालसम्म कोही पनि आएको उनले बताए ।
“अहिले बिलबुक मात्रै नवीकरणको काम गर्दै आएको कार्यालयले सवारी साधनको दर्ता सुरु गरेका छ,” केसीले भने, “अब यहीँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण र नयाँ वितरणको काम समेत सुरु हुन्छ ।”
कार्यालयले सम्भव भएसम्म असार पहिलो हप्ताबाट सवारी चालक अनुमतिपत्र वितरण र नवीकरणको काम समेत सुरु गर्ने तयारी गरेको छ । सवारी चालक अनुमतिपत्र वितरणका लागि परीक्षा र ट्रायल दिने व्यवस्था मिलाउन कार्यालयले विमलनगरमा पूर्वाधार निर्माण थालेको छ ।
यातायात व्यवस्था कार्यालयले अनलाइनमा फारम खुलाएपछि विमलनगरमा ट्रायल दिने व्यवस्था मिलाइनेछ । सवारी चालक अनुमतिपत्र वितरण र नवीकरण पनि तनहुँबाट हुने भएपछि यस भेगकै सर्वसाधारणलाई राहत मिल्नेछ । अहिले सवारी साधन दर्ता, सवारी चालक अनुमति नवीकरण लगायतका कामका लागि पोखरासम्म जानुपर्ने अवस्था छ ।