दमाैली । गण्डकी प्रदेश सरकारले तनहुँको धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीय स्थल छिम्केश्वरीसम्म जोड्ने पदमार्ग निर्माण गर्ने भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभामा आगामी वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै व्यासगुफादेखि छिम्केश्वरीसम्म पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको उल्लेख गरे ।
एक स्थानीय तह ः एक प्रमुख पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्य अनुरुप व्यासगुफादेखि–छाब्दी–कर्लुङ–रामकोट–बन्दीपुर–हिलेखर्क–छिम्केश्वरी पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री बरालले बताए ।
सदरमुकाम दमौलीमा रहेको व्यासगुफामा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट समेत भक्तजन आउने गरेका छन् ।
समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा अवस्थित आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीमा पूजाआजाका लागि भक्तजन पुग्ने गरेका छन् । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
त्यस्तै दमौली अस्पताललाई समय सापेक्ष स्तरोन्नति गरी सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री बरालले बताए । उनका अनुसार दमौली अस्पतालबाट रगत तथा रक्तजन्य पदार्थ निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।
यस्तै सरकारले प्रदेशको गौरवको योजनाको रुपमा रहेको तनहुँको भिमाद–डेढगाउँ–झ्यालवास–चोरमारा–दुम्कीवास–त्रिवेणी सडक खण्ड, शालिग्राम करिडोर लगायतका सडक निर्माण कार्यलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।
साङ्केतिक तस्वीर