दमाैली । विगत केही दिनदेखि तनहुँका विभिन्न स्थानमा छिनछिनमा विद्युत अवरुद्ध भइरहँदा सर्वसाधारणलाई सास्ती भएको छ । दिनमा २० पटक भन्दा बढी विद्युत अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
यस्तै सास्ती खेपेका छन् आँबुखैरेनीका स्थानीयवासीले पनि । विगत केही दिनयता झ्याप झ्याप विद्युत अवरुद्ध हुने समस्याबाट आजित भएपछि आँबुखैरेनीवासीको प्रतिनिधित्व गर्दै वडा सदस्य मनोजकुमार श्रेष्ठले यो समस्याको बारेमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् ।
आज टेलिफोन सम्पर्क गरी आँबुखैरेनी–३ का वडा सदस्य श्रेष्ठले घिसिङलाई यस विषयमा ध्यानाकर्षण गराएका हुन्। वडा सदस्य श्रेष्ठले बिहानदेखि बेलुकासम्म छिनछिनमा बत्ती जाँदा सर्वसाधारणको गुनासो आएकाले घिसिङलाई यसबारेमा जानकारी गराएको बताए ।
“विद्युतमा एकदमै बढी गुनासो आयो, बिहानदेखि बेलुकासम्म विद्युत गएर साह्रै समस्या भएको छ,” श्रेष्ठले घिसिङसँग भने, “आँबुखैरेनीमा नै मस्र्याङ्दी जलविद्युतको विद्युतगृह हुने, मार्कीचोकमा सवस्टेशन हुने तर यहीँका जनता बत्तीमुनीको अँध्यारोमा बस्नुपर्ने अवस्था आयो ।”
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मार्कीचोकको सवस्टेशनमा टेस्टिङको काम भइरहेकाले त्यस्तो समस्या आएको हुन सक्ने बताए। “आजमात्र सवस्टेशन चार्ज भएको छ, के समस्या रहेछ म बुझ्छु,” घिसिङले भने ।