दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिकादेखि भिमाद बजार जाने एकतर्फी सडक सञ्चालनमा आएको छ । शुक्लागण्डकी–७ स्याउली बजारमा वर्षाको भेलले सडक खाल्डो परेपछि शुक्रबार बिहानदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो ।
उक्त सडकखण्ड विस्तारका लागि नयाँ बाटो बनाउने क्रममा पानीको भलले सडक नै खाल्डो परेपछि बिहीबार रातिदेखि अवरुद्ध भएको सडकखण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
“राति १ बजेसम्म काम गर्दा पनि अवरुद्ध सडक खुलाउन नसकेपछि आज बिहानबाट एकतर्फी सञ्चालनमा ल्याउन सफल भएका छौँ”, उनले भने ।
उक्त सडकखण्ड कालोपत्रका लागि गत वर्षको साउनदेखि काम भइरहेको छ । खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्र गरिनेछ ।