दमाैली । तनहुँको व्यास नगरपालिकाले कृषि तथा गैर कृषि क्षेत्रका निवेदन अनुमोदन गरी मालपोत कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । सरकारको निर्णय बमोजिम मालपोत कार्यालयले कृषि तथा गैर कृषि क्षेत्र वर्गीकरण नगरी कित्ताकाट र धितोबन्धकका कार्य नगर्ने सूचना जारी गरेपछि नगरपालिकाले मालपोत कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको भूउपयोग परिषद्को बैठकले नगरपालिकामा सिफारिस भई आएका कृषि तथा गैर कृषि क्षेत्रका निवेदनहरुको अनुमोदन गरी मालपोतमा सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले नगर क्षेत्रभित्रका जग्गाहरुको भूउपयोग ऐन, २०७६ को दफा ४(१) बमोजिम भूउपयोग क्षेत्र वर्गीकरण गरी २०७९ असोज मसान्तभित्र पेश गर्न विज्ञ सम्मिलित प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै व्यास नगरपालिका भूउपयोग परिषदको बैठक सम्बन्धी कार्यविधि बनाई १५ दिनभित्र पेश गर्न विधायन समितिलाई जिम्मा दिने निर्णय भएको सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।
हाल आएको वर्षाद्ले विभिन्न सार्वजनिक संरचना र व्यक्तिगत धनजनमा पुगेको क्षतिलाई तत्काल सम्बोधन गर्न वडा अध्यक्षको अध्यक्षतामा रहने वडागत विपद् समितिबाट प्राविधिक सहित स्थलगत निरीक्षण गरी अत्यावश्यक, तत्काल पुर्नस्थापना गर्न गराउन वडाहरुलाई जिम्मेवारी तोक्ने निर्णय भएको छ ।