तनहुँका स्थानीय तहले आज बजेट ल्याउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँका स्थानीय तहले आज बजेट ल्याउँदै

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७९, शुक्रबार

    दमौली । तनहुँ जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि शुक्रबार बजेट प्रस्तुत गर्ने भएको छ । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकाले एकैसाथ बजेट प्रस्तुत गर्न लागेका हुन् । भानु नगरपालिकाले बिहीबार नै बजेट सार्वजनिक गरिसकेको छ ।

    जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकाले बजेट प्रस्तुत गर्ने गर्दछ । व्यासले एक अर्ब भन्दा बढीको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाले आज पहिलो सत्रमा वार्षिक नीति तथा कार्यक्रम र दोस्रो शत्रमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

    जिल्लाका भिमाद, शुक्लागण्डकी ऋषिङ, बन्दीपुर, घिरिङ गाउँपालिकाले शुक्रबार एकैसाथ बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । देवघाट र म्याग्दे गाउँपालिकाले भने नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने शुक्रबार बजेट प्रस्तुत गर्नेछन् ।

    जिल्लाका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । चार नगरपालिकाका लागि रु दुई अर्ब ४५ करोड ५७ लाख र छ गाउँपालिकाका लागि रु एक अर्ब ८९ करोड ३० लाख बजेट विनियोजन भएको छ ।

    भानु नगरपालिकाका लागि चालुतर्फ रु ५२ करोड ७३ लाख र पुँजीगततर्फ रु पाँच करोड नौ लाख गरी कूल रु ५७ करोड ८२ लाख, भिमाद नगरपालिकाका लागि चालतुर्फ रु ३९ करोड ६१ लाख र पुँजीगततर्फ रु चार करोड ९७ लाख गरी कूल रु ४४ करोड ५८ लाख, व्यास नगरपालिकाका लागि चालुतर्फ रु ७१ करोड ३९ लाख र पुँजीगततर्फ रु १४ करोड ३८ लाख गरी कूल रु ८५ करोड ७७ लाख र शुक्लागण्डकी नगरपालिकाका लागि चालुतर्फ रु ४८ करोड २३ लाख र पुँजीगततर्फ रु नौ करोड १७ लाख गरी कूल रु ५७ करोड ४० लाख विनियोजन भएको छ ।

    आँबुखैरेनी गाउँपालिकाका लागि चालुतर्फ रु २५ करोड ३४ लाख र पुँजीगततर्फ रु तीन करोड एक लाख गरी कूल रु २८ करोड ३५ लाख, ऋषिङ गाउँपालिकाका लागि चालुतर्फ रु ३२ करोड ८३ लाख र पुँजीगततर्फ रु एक करोड ८१ लाख गरी कूल रु ३४ करोड ६४ लाख, घिरिङ गाउँपालिकाका लागि चालुतर्फ रु २४ करोड ९६ लाख र पुँजीगततर्फ रु तीन करोड ८१ लाख गरी कूल रु २८ करोड ७७ लाख विनियोजन भएको छ ।

    देवघाट गाउँपािलकाका लागि चालुतर्फ रु २८ करोड ६४ लाख र पुँजीगततर्फ रु दुई करोड ८६ लाख गरी कूल रु ३१ करोड ५० लाख, म्याग्दे गाउँपालिकाका लागि चालुतर्फ रु २७ करोड ७९ लाख र पुँजीगततर्फ रु चार करोड ७४ लाख गरी कूल रु ३२ करोड ५३ र बन्दीपुर गाउँपालिकाका लागि चालुतर्फ रु २७ करोड ४९ लाख र पुँजीगततर्फ रु छ करोड दुई लाख गरी कूल रु ३३ करोड ५१ लाख बजेट विनियोजन भएको छ ।