दमौली । दमौलीमा डेङ्गु भेटिएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपनि अस्पतालका चिकित्सकले भने पुष्टि नभएको र लक्षण मात्र मिलेको बताएका छन् ।
अस्पतालमा आएका केही बिरामीमा डेङ्गुसँग मिल्दोजुल्दो लक्षण देखिएको चिकित्सकले बताएका छन् ।
अस्पतालका एमडिजिपी डा. राजु रानाले भने, “डेङ्गुसँग मिल्दोजुल्दो लक्षण देखिएको छ, डेङ्गु नै हो की होइन भन्नका लागि ल्याबमै परीक्षण गर्नुपर्छ, पुष्टि भएको छैन । उनका अनुसार ती बिरामीको रगत परीक्षण गर्दा रगतमा खराबी देखिएको छैन । “एन्टिजेन नेगेटिभ देखिएको छ, आइजिएम भने पोजिटिभ देखिएको छ,” उनले भने ।
डेङ्गु ज्वरो एडिस जातको लामखुट्टेको टोकाईबाट हुने एक प्रकारको सरुवा रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाईले यो रोग सर्दछ ।
एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।