पृथ्वीसुब्बा गुरुङ भन्छन् : एमालेले जितेका पालिकामा सुशासन हुनुपर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    पृथ्वीसुब्बा गुरुङ भन्छन् : एमालेले जितेका पालिकामा सुशासन हुनुपर्छ

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७९, बुधबार

    दमाैली । नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्ने बताएका छन् । नेकपा (एमाले) घिरिङ गाउँ कमिटीले बुधबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै गुरुङले एमालेले जितेका पालिकालाई सुशासनमा नमूना बनाउनुपर्ने बताए ।

    सबै पक्षलाई मिलाएर लैजान सकेमात्र विकास हुने बताउँदै गुरुङले मेलमिलापले मात्रै विकास सम्भव रहेको उल्लेख गरे। “जहाँ मेलमिलाप छ त्यहाँ विकास भएको छ, जहाँ झैझगडा छ त्यहाँ विकास हुँदैन, झैझगडा भए सुशासन पनि हुँदैन,” गुरुङले भने, “विकासको काममा विपक्षीलाई पनि मिलाएर लैजानुपर्छ ।”

    गुरुङले भ्रष्टाचार नियन्त्रणका लागि नायक भएर काम गर्नुपर्ने बताए। भ्रष्टाचार देश विकासको बाधक भएकाले भ्रष्टाचार नियन्त्रणका लागि सङ्कल्प गर्नुपर्नेमा उनले जाेड दिए ।

    सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पनि जनप्रतिनिधिले रक्षा गर्ने गर्नुपर्ने बताए । “सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेमा हाम्रै पार्टीका कार्यकर्ता पनि छन्, त्यसको प्रवृत्तिको अन्त्य गर्नुपर्छ,” गुरुङले भने।

    गुरुङले हरेक काम पारदर्शी हुनुपर्नेमा जोड दिँदै पारदर्शी भए मात्र सुशासन सम्भव रहने धारणा राखे। “जालझेल गरेर शासन चलाउन हुँदैन, विधिको शासन ठूलो कुरा हो,” उनले भने “कानून र विधिलाई ख्याल गर्नुपर्छ ।” गुरुङले सनकको भरमा शासन गर्न नहुने भन्दै संविधानलाई टेकेर शासन गर्नुपर्ने सुझाव दिए ।

    गुरुङले स्थानीय सरकारलाई सबैको सरकार हो भन्ने बनाउनुपर्ने बताए। “पालिका हाम्रो हो भन्ने जनतालाई अनुभूति गराउनुपर्छ, दलित, जनजाति, सबै जातजातिलाई अपनत्व दिलाउनुपर्छ,” उनले भने, “विकासमा भेदभाव गर्न पाइँदैन । समावेशी विकास गर्नुपर्छ ।”

    कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेले जितेका पालिकालाई नमूना बनाउनुपर्नेमा जोड दिए।