दमाैली । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले प्रहरीलाई स्रोत साधन सम्पन्न गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। तनहुँको बन्दीपुरमा निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय भवनको बुधबार उद्घाटन गर्दै मन्त्री विकले प्रहरीलाई स्रोत साधन सम्पन्न बनाउन सकिएमात्र सभ्य समाज निर्माणमा टेवा पुग्ने बताए ।
मन्त्री विकले समाज शान्ति सुरक्षा, अमनचयन काम राख्नका लागि प्रहरीसँगै स्थानीय समुदायको पनि उत्तिकै भूमिका आवश्यक रहेको बताए । प्रहरी र स्थानीयवासीको सहकार्यले मात्रै अपराध न्यूनीकरण गर्न सकिने उनकाे भनाई थियो ।
कार्यक्रममा प्रदेश सांसद सरिता गुरुङ, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी लगायतले बाेलेका थिए ।
रु तीन करोड ६७ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो । विसं २०७६ फागुन १७ गते भवन निर्माणका लागि काभ्रेस्थित ब्राइट मल्टि कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो ।
यसअघि जीर्ण भवनबाट सेवा दिइरहेको प्रहरीलाई नयाँ भवन निर्माण भएपछि सहज हुने इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षेत्रीले जानकारी दिए ।