मुग्लिन पोखरा सडक विस्तार : तनहुँको पूर्वी खण्डमा ५७ करोड खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    मुग्लिन पोखरा सडक विस्तार : तनहुँको पूर्वी खण्डमा ५७ करोड खर्च

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा रु ५७ करोड भन्दा बढी खर्च भएको छ ।

    जिल्लाको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा एक वर्षको अवधिमा रु ५७ करोड चार लाख ४२ हजार ९६ खर्च भएको छ । आर्थिक वर्ष ०७८/७९ मा उक्त खण्डका लागि रु दुई अर्ब ५१ करोड ४७ लाख ८२ हजार विनियोजन भएको थियो ।

    सडक योजनाले आँबुखैरेनीदेखि जामुनेसम्मको सडक विस्तारका लागि काम गरिरहेको योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार उक्त खण्ड अन्तर्गत विभिन्न ठाउँमा भित्ताहरु काट्ने काम भइरहेको छ भने सडक चौडा पार्ने काम पनि निरन्तर चलेको छ ।

    उक्त खण्ड अन्तर्गत सडक दायाँबायाँका रुखहरु कटान गरिएको छ । तनहुँ खण्डमा मात्रै छ हजार पाँच सय रुख कटान गरिएको छ ।

    विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

    आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्ड रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो ।

    चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।