दमाैली । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा सञ्चालन गर्न सकिने खेलबारे सुझाव सङ्कलन गरिएको छ । ३९ वर्षपछि गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश राजधानी पोखरा बाहिरका जिल्लामा पनि खेल सञ्चालन गर्नका लागि सुझाव सङ्कलन गरिएको हो ।
जिल्ला खेलकुद विकास समिति तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले तनहुँमा बास्केटबल खेल सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । जिल्लामा अन्य खेलकुदका पूर्वाधार नभएको र व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय मापदण्डको दुई वटा बास्केटबल कोर्ट निर्माण भएकाले नवौं खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा बास्केटबल खेल सञ्चालन गर्न सकिने बताइएको छ ।
जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जिल्लामा भएका खेलका पूर्वाधार हेरेर खेल दिए सञ्चालन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। भौतिक पूर्वाधार नहुँदा खेल सञ्चालन गर्न सक्दैनौ भनेर भन्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था रहेको भन्दै पाण्डेले भने, “जति पनि खेलकुदका पूर्वाधार छन् त्यसलाई मध्यनजर गरेर राष्ट्रिय खेलकुद परिषद्ले खेल सञ्चालन गर्ने जिम्मा दिए सम्पन्न गराउन हामी तयार छौ ।”
व्यास नगरपालिका–६ का वडाध्यक्ष एवं प्रवक्ता जीवन गुरुङले जिल्लामा बास्केटबल खेल सञ्चालन गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले खेलकुद प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।
व्यास नगरपालिका–९ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका संयोजक सुरेश थापाले नवौं खेलकुद प्रतियोगिता गण्डकीमा भइरहँदा एउटा खेल तनहुँमा होस् भन्ने तनहुँवासीको चाहना रहेको बताए ।
भलिबल सङ्घका अध्यक्ष पदम सुनारले तनहुँमा खेल सञ्चालनका लागि होटल, सुरक्षाको व्यवस्था राम्रो रहेको बताए। उनले अन्य खेल सञ्चालनका लागि पूर्वाधार अभाव भएपनि बास्केटबल कोर्ट मापदण्ड अनुसारको रहेकाले बास्केटबल सञ्चालन गर्न सकिने सुझाव दिए।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले पोखरामा मात्र नभई अन्य जिल्लामा पनि कम्तिमा एउटा खेल खेलाउने तयारी गरिएको जानकारी दिए।
प्रतियोगिता अन्तर्गत तनहुँले कुन खेलाउन सक्छ भन्ने विषय अध्ययनका लागि सुझाव सङ्कलन गरिएको बताउँदै गुरुङले भदौ १५ गतेभित्र निर्णय गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।
खेलको विकासका लागि सबै गम्भीर हुनुपर्ने बताउँदै उनले भने “खेलमा राजनीति नगरौं, नवौ प्रतियोगिता सम्पन्न गर्न सबै लागौ ।” गुरुङले प्रदेशका सबै जिल्लामा खेल सञ्चालन गर्न सकिने सम्भाव्यता अध्ययनका लागि हालसम्म तनहुँ, गोरखा, म्याग्दी, बागलुङ, पर्वत, कास्की लगायतका जिल्लामा पुगिसकिएको जानकारी दिए।
तनहुँमा रङ्गशाला नहुनु दुर्भाग्यपूर्ण अवस्था रहेको बताउँदै गुरुङले भने, “तनहुँमा खेलकुदप्रति लगाव पाइएन, रङ्गशाला छैन भन्नुपर्दा दुर्भाग्य हो । तनहुँमा कम्तिमा एउटा खेल सञ्चालनको लक्ष्य राखेका छौ ।”
करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौं संस्करण आयोजनाको मौका मिलेको हो ।
राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।