व्यास नगरपालिकामा सहायता कक्ष र टोल फ्रि सुरु (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकामा सहायता कक्ष र टोल फ्रि सुरु (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७९, बुधबार

    दमाैली । व्यास नगरपालिकाले आजदेखि नागरिक सहायता कक्ष र टोल फ्रि सुविधा सञ्चालनमा ल्याएको छ । नगरपालिकालाई सेवाग्राहीमैत्री बनाउने उद्देश्यले नगरपालिकाले सहायता कक्ष र टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो ।

    सहायता कक्ष र टोल फ्रि नम्बरको शुभारम्भ गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन र नागरिकमैत्री बनाउने उद्देश्य सहित सहायता कक्ष सञ्चालन गरिएको बताए । “नगरपालिकामा आउने सेवाग्राहीलाई कुनै झण्झट बेहोर्न नपरोस् र सहज रुपमा सेवा पाउन् भन्ने मुख्य लक्ष्य हो,” नगरप्रमुख न्यौपानेले भने।

    प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले नागरिक सहायता कक्षबाट सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदन र पेश गर्नुपर्ने आवश्यक कागजातहरुको फोटोकपी निःशुल्क रुपमा उपलब्ध गराइने जानकारी दिए । उनका अनुसार नगरपालिकाको मुख्य कार्यालय र १४ वटै वडाबाट आजदेखि नै फोटोकपी सुविधा निःशुल्क उपलब्ध गराइनेछ ।

    नगरपालिकाले नगरवासीका गुनासो सुनुवाईका लागि टोल फ्रि नम्बर पनि सञ्चालनमा ल्याएको छ । १६६०६५५२००६ नम्बरको टोल फ्रिमा फोन गर्दा शुल्क लाग्दैन । टोल फ्रि नम्बरमा नगरवासीले आफ्ना गुनासो र समस्या टिपाउन सक्नेछन् । नगरवासीले टिपाएको गुनासो सम्बन्धित शाखामार्फत् समाधान गरिने प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए।

    नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कल सेन्टर सञ्चालन गर्ने उल्लेख गरिएको थियो । “नगरवासीका समस्या तथा गुनासो सुन्नका लागि चौबिसै घण्टा नै खुल्ला रहने गरी कलसेन्टर सञ्चालनमा ल्याएका हौ,” नागिलाले भने, “गुनासो र समस्या सुनेपछि तत्कालै त्यसको समाधानका लागि प्रयत्न गरिनेछ ।”

    नगरपालिकाले चालु आर्थिक वर्षमा नै नगरपालिकाको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउन र छिटो छरितो सेवा प्रवाह गर्न सबै वडालाई प्रविधिमैत्री गराउने भएको छ ।