दमाैली । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट को उम्मेदवार हुने भन्ने अझै निश्चित छैन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई लगायतका नेताहरुको यो क्षेत्रमा दावी छ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका सांसद श्रेष्ठले भने तनहुँ–१ बाट आफू नै उम्मेदवार बन्ने बताएका छन् । सांसद श्रेष्ठले पार्टी नेतृत्वसँगको तिक्तता सकिएकाले एकीकृत समाजवादीबाटै चुनाव लड्ने बताए ।
‘गठबन्धनमा पहिलादेखि नै जसले जहाँ जितेको छ, त्यहाँ उसले पाउने भन्ने कुरा भएकाले मेरो दाबी छ, मलाई पार्टी र गठबन्धनका नेताहरूले धोका दिनुहुन्न भन्नेमा पूर्ण विश्वस्त छु,’ श्रेष्ठले भने । २०७४ को निर्वाचनमा एमालेबाट श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका थिए । पौडेल २७ हजार ६ सय ७५ मत प्राप्त गरेर पराजित भए ।
सिट बाँडफाँटको आधार तय गर्न बनेको कार्यदलले सबै पार्टीका शीर्ष नेताको व्यवस्थापनका विषयमा छलफल थालेको छ । कांग्रेसको शीर्ष नेता भएकाले अन्यत्रबाट चुनाव लड्ने सुविधा पौडेललाई रहेको श्रेष्ठ बताउँछन् । ‘उहाँ मभन्दा ठूलो नेता हो, त्यसकारण चितवन, गोरखा, लमजुङ जहाँ गए पनि भयो,’ श्रेष्ठ भन्छन्, ‘अर्कोतर्फ एकीकृत समाजवादीको म संस्थापक केन्द्रीय सदस्य हुँ । आफैंले बनाएको पार्टी छोड्न चाहन्न । मेरो पार्टीले त्यस्तो ठूलो गल्ती गर्दैन र गठबन्धनका नेताहरूले पनि मलाई अन्याय गर्नुहुन्न भन्नेमा विश्वस्त छु ।’