दमाैली । व्यास नगरपालिकाले नगरवासीको गुनासो सुन्नका लागि ‘नगरपालिकाका पदाधिकारीसँग संवाद’ कार्यक्रम सुरु गरेको छ । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि प्रत्येक महिनाको २ गते संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय बमोजिम बिहीबारदेखि उक्त कार्यक्रम सुरु भएको हो । उक्त कार्यक्रम प्रत्येक महिनाको २ गते ११ः३० बाट सुरु हुनेछ ।
नगरवासीका गुनासो सुनेर तत्कालै गुनासो सम्बोधन गर्ने उद्देश्यसहित कार्यक्रम शुभारम्भ गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।
सो अवसरमा सहभागी केही नगरवासीले सडक बत्तीको महशुल, सामुदायिक विद्युतीकरणको सुविधा लगायतका विषयमा गुनासो राखेका थिए । नगरवासीको गुनासो सुनेपछि नगरप्रमुख न्यौपानेले नगरपालिकाले यस वर्षदेखि लिफ्ट खानेपानीको विद्युत महशुल तिर्ने व्यवस्था मिलाएको बताए। सडकबत्तीको पनि तथ्याङ्क लिएर के गर्न सकिन्छ त्यसबारेमा सोचिने नगरप्रमुख न्यौपानेले बताए ।
पहिलो कार्यक्रम हुँदा न्यून उपस्थिति
नगरपालिकाले सुरु गरेको उक्त कार्यक्रमको पहिलो दिन नगरवासीको अत्यन्तै न्यून उपस्थिति थियो । यो कार्यक्रमको बारेमा जानकारी गराई धेरैभन्दा धेरै नगरवासीलाई उपस्थित गराउनेतर्फ नगरपालिकाको तर्फबाट प्रचारप्रसार गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
“सबैलाई थाहा नभएर पनि उपस्थिति कम भएको होला, यसलाई प्रचारप्रसार गर्नका लागि सञ्चारमाध्यमको पनि सहयोग लिन्छौ,” उनले भने ।