दमाैली । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले भदौ १५ गते पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ । तनहुँको बन्दीपुरमा हालै सम्पन्न सङ्गठनात्मक कार्यशाला बैठकले भदौ १५ गतेभित्र सदस्यताको काम सम्पन्न गर्ने निर्णय गरेको हो ।
नवीकरणमा स्वयं पार्टी सदस्यलाई नै उत्प्रेरित गर्ने गरी उत्साहजनक तवरले परिचालित गर्ने निर्णय भएको गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए।
आगामी निर्वाचनको तयारीलाई केन्द्रविन्दुमा राखेर पार्टी जिल्ला, पालिका, वडा र टोल कमिटीका बैठक भदौ मसान्तसम्म अनिवार्य राखी आम पार्टी पङ्क्ति परिचालनको प्रभावकारी योजना निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।
भदौ १५ गतेसम्म पालिका कमिटीका कार्यालय तथा भाद्र मसान्तसम्म वडा कमिटीका कार्यालय अनिवार्य रुपमा सञ्चालन गर्ने, भदौ मसान्तसम्म जनसङ्गठनहरुका प्रदेश, जिल्ला, पालिका र आधारभूत तहसम्मका कमिटीको बैठक आयोजना गरिसक्ने निर्णय भएको दवाडीले बताए ।
स्थानीय निर्वाचनको मूल सन्देश र शिक्षालाई दृढताका साथ पार्टी पङ्क्तिमा स्थापित गर्ने अठोट गर्दै प्रदेशमा सङ्घ तथा प्रदेश तर्फका धेरै स्थानहरुमा नेकपा (एमाले)लाई विजयी गराउन आम पार्टी पङ्क्तिलाई एकढिक्का भएर निर्वाचनमा परिचालित गर्ने निर्णय गरिएको छ ।
पार्टीभित्र हुर्केको अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गर्दै पार्टीलाई विधिसम्मत् तवरले सञ्चालन गर्ने, फरक फरक समूहबन्दीका गतिविधि रोक्ने, गुट शिक्षामा नभइ पार्टी शिक्षामा जोड दिने, हरेक नेता कार्यकर्ता अन्तरविरोधको समाधानकर्ता बन्ने र विविधतामा एकता खोज्ने पद्धति निर्माण गर्न एकढिक्का भएर लाग्ने निर्णय भएको बताइएको छ ।