दमाैली । नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने पुनः उद्घोष गरेका छन् । नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले आफू चुनाव लड्ने भएकाले आजैदेखि तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
जे पर्छ सामना गर्ने र भिड्ने बताउँदै जोशीले भने, “स्थानीय तहमा एमालेसँग तालमेल गरेर चुनाव लडेका थियौ, अहिले के हुन्छ भन्न सकिदैन । एमाले वा अरु कोहीसँग एकता हुन पनि सक्छ ।”
पूर्व गृहमन्त्री समेत रहेका जोशीले सिद्धान्तको लडाइ भएकाले यसमा सफलता प्राप्त गर्नुपर्ने बताए । रामचन्द्र पौडेलबाट तनहुँका जनताले मुक्ति चाहेको बताउँदै उनले भने, “रामचन्द्र पौडेलबाट मुक्ति हुने कुरा नै तनहुँका लागि आर्शीवाद हो । उनीहरु सरकार पक्ष भएकाले हरेक किसिमका हतकण्डा प्रयोग गर्न सक्छन्, हामीहरु पैसाको लोभमा पर्न भएन ।”
जनताको मतले चुनाव जितिने भन्दै जोशीले जनताको माया आफूहरुसँग भएको दावी गरे ।