तनहुँ–१ नछाड्ने पौडेलको सङ्केत, किसानले भने – प्रत्यक्षमा छाडिदिनुस् सम्मानित पदमा जानुस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ नछाड्ने पौडेलको सङ्केत, किसानले भने – प्रत्यक्षमा छाडिदिनुस् सम्मानित पदमा जानुस्

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७९, शनिबार

    दमाैली । मङ्सिर ४ गते निर्वाचन हुने भएपछि निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । त्यसमाथि पनि तनहुँ क्षेत्र नम्बर १ मा चुनावी माहोल अन्य ठाउँको तुलनामा भिन्न छ ।

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले हारेकै निर्वाचन क्षेत्रबाट जितेर मर्ने चाहना छ भन्ने अभिव्यक्ति दिएका कारण पनि तनहुँ–१ को भागबण्डा पेचिलो बनेको राजनीतिक वृत्तमा चर्चा छ । २०७४ को निर्वाचन जितेका कृष्णकुमार श्रेष्ठ (किसान) अहिले नेकपा एकीकृत समाजवादीमा छन् । श्रेष्ठको दावी पनि यही क्षेत्रमा छ ।

    तनहुँ–१ का मुख्य दावेदर दुई नेता शनिबार एकै मञ्चमा उपस्थित भएका छन् । व्यास–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औ वार्षिकोत्सव तथा एघारौ साधारणसभाको अवसरमा पौडेल र श्रेष्ठको एकैमञ्चमा उपस्थितिले चुनाव ह्वात्तै लागेको अनुभूति दिलाएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि पौडेलले तनहुँ १ नछाड्ने सङ्केत गर्दै भाषण गरे । आफूमा मुलुकको नेतृत्व गर्ने नैतिक शक्ति भएको भन्दै सक्रिय राजनीतिबाट विमुख नहुने बताए । कार्यक्रम उद्घाटनका क्रममा सांसद श्रेष्ठले दियो उचालेर आफूलाई हस्तान्तरण गरेको भन्दै पौडेलले भने, “अहिलेको अवस्था पनि यस्तै हो ।”

    कार्यक्रमका विशिष्ट अतिथि सांसद श्रेष्ठले आफूले सम्मान गरेर दियो दिएको भन्दै प्रत्यक्ष राजनीतिका लागि आफूहरुलाई मैदान खाली गरिदिन पौडेललाई आग्रह गरे । “तपाईलाई माननीय भन्दा ठूलो पदमा पु¥याउँछौ, राष्ट्रपति बनाउन भूमिका खेलौला,” श्रेष्ठले भने ।

    नेकपा माओवादी र नेकपा एसका अध्यक्षले मञ्च छाडेपछि…

    यसैबीच कार्यक्रममा समान व्यवहार नगरिएको भन्दै नेकपा माओवादी केन्द्रका संयोजक ओमराज आले र नेकपा एकीकृत समाजवादीका अध्यक्ष श्रीराम कार्कीले मञ्च वहिष्कार गरेर हिँडेका छन् ।

    अन्य राजनीतिक दललाई मन्तव्य दिइँदा आफूहरुलाई समय नदिइएको भन्दै उनीहरुले मञ्च छाडेका हुन् । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठलाई बोल्न दिइएको थियो ।

    सबै राजनीतिक दल समान भएपनि क्याम्पसले आफूहरुलाई स्थान नदिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष कार्कीले बताए । “बोल्ने क्रममा पनि नेविसंघलाई मात्रै दिइयो, नेविसंघलाई दिएपछि सबै विद्यार्थी संगठनलाई दिए जस्तो गर्न भएन,” कार्कीले भने ।