दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको शनिबार आयोजित ३६औँ वार्षिकोत्सव तथा ११औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले संविधानमा नै समाजवाद उन्मुख लेखिएकाले शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
देशलाई काम गर्ने जनशक्ति आवश्यक भएको उल्लेख गर्दै नेता पौडेलले सीपवान नागरिक तयार गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको औल्याए । आदिकवि भानुभक्त क्याम्पसलाई प्राविधिक क्याम्पसको रुपमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, “सीपवान नागरिक उत्पादन गर्नुपर्छ, त्यसका लागि प्राविधिक शिक्षाको खाँचो छ । आदिकवि क्याम्पस अब उक्त बाटोमा अगाडि बढ्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले मुलुकको नेतृत्व गर्ने इच्छाशक्ति आफूमा रहेकाले अहिल्यै सक्रिय राजनीतिबाट विश्राम नलिने बताए । “सक्रिय राजनीतिबाट म अहिल्यै उन्मुख हुन्न”, उनले भने ।
कार्यक्रममा तनहुँ क्षेत्र नं १ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ, नेकपा एमाले तनहुँका अध्यक्ष एवं म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, पूर्वराज्यमन्त्री अमरराज कैनी लगायतले बोलेका थिए ।
सो अवसरमा क्याम्पस स्थापनाकालदेखि सहयोग पु¥याउनुहुने पूर्वराज्यमन्त्री अमरराज कैनी, तमबहादुर दरै र दामोदर खनाललाई सम्मान गरिएको थियो ।